देश

हृदयघातले पत्तै नपाई कसरी हुन्छ मृत्यु ? जोखिम थाहा पाउने कसरी ? बच्ने कसरी ?


काठमाडौँ — संसारभर हृदयघातबाट वर्षेनी ९० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघात सम्वन्धि मुटुरोग लाग्ने हुँदा यो रोगले दिन दिनै भयावह रुप लिँदै गएको छ । आईतबारसम्म सामान्य जीवनशैली बिताईरहेका संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भौतिक शरीरले मंगलबार बिहानदेखि सदाका लागि यो संसारबाट विश्राम लिएको छ ।

एकाएक धुँवासरी फैलिएको नेम्वाङको निधनको खबर हरकोहीलाई अपत्यारिलो लागे पनि अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको पुष्टि गरेको हो । पछिल्लो सयम हृदयघातका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । हृदयघात सुन्दा जति सामान्य लाग्छ यसबाट मृत्यु हुनेको तथ्यांक हेर्दा र सुन्दा त्यति नै डरलाग्दो छ । संसारभर हृदयघातबाट वर्षेनी ९० लाख मानिसको ज्यान जाने गरेको छ । ६ वर्षअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्ना पुत्र प्रकाश दाहाललाई हृदयघातकै कारण गुमाउनु परेको थियो । त्यस्तै माओवादी नेता पोष्टबहादुर बोगटीलाई पनि यही रोगले लगेको थियो । मुटुको रक्तनलीमा अचानक अवरोध आएर मुटुको मांशपेशीमा हुने रक्तसञ्चारको कमीले हृदयघात हुने गर्छ ।

जब मुटुको धमनीमा विभिन्न बोसोजन्य पदार्थ जम्मा भई धमनीहरु साँघुरो हुन्छ तब मुटु स्वयम्ले अक्सिजन, ग्लुकोजलगायत अन्य खनिज पदार्थ प्राप्त गर्न सक्दैन र मुटु कमजोर भई हृदयघात हुने चिकित्सकहरु बताउँछन् । हृदयघात भएको बेलामा छातीको बीच भागमा दुख्ने,भारी हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढी भएको अनुभव हुने, धेरै पसिना आउने, रिँगटा लाग्ने हुने गर्छ । कसैकसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने शरीरको कुनै भाग चलाउन गाह्रो हुने जस्ता लक्षणहरु पनि देखिन सक्छ ।

हृदयघात नसर्ने रोग हो । तर, नेपालमा ७१ प्रतिशत मृत्यु यस्तै नसर्ने रोगबाट हुने गर्छ । धनी, गरिब, बालक, युवा, वृद्ध कुनै वर्ग वा उमेर समूह नचिन्ने यसबाट कोही जोखिम मुक्त छैन । तर, लैंगिकतामा भने यसले केही फरक पार्छ । महिलाको तुलनामा पुरुष हृदय रोगको उच्च जोखिममा हुने गर्छन् । तर, महिलालाई हुँदै नहुने भने होइन । उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यायमको कमी, उच्च कोलस्ट्रोल, अत्याधिक तनाव तथा नकरात्मक सोच, बढ्दो उमेर, पारिवारिक कारणजस्ता समस्या लिने बढी यसको जोखिममा हुन्छन् ।

अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघात सम्वन्धि मुटुरोग लाग्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।मानव र प्रकृति विचको वढ्दो दुरी, वातावरणीय प्रदूषण, मानसिक तनाव, अल्छीपनाजस्ता जीवनशैलीको उचित व्यवस्थापन गर्न नसक्नुले पनि हृदयघातकाबिमारी बढाउँदै लगेको छ । त्यसैले जीवनशैली परिवर्तन गरेर हृदय रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।

मुटुरोगबाट बच्न खानामा पनि विशेष ध्यान दिन जरुरी छ । रेसा र चोकर युक्त खाद्यानहरुको समायोजन गर्दै सलाद, हरीया सागसब्जिजस्ता खानालाई प्राथमिकतामा राख्नु पर्छ । भिटामिन ए, सी र ई पाईने खानेकुरा र एण्टिअक्सिडेण्ट युक्त भोजन मुटु रोगीकालागि अपरिहार्य हुने गर्छ । यसबाहेक नियमित व्यायाम, सकारात्मक सोच र नियमित चिकित्सकसँगको परामर्श गर्न पनि आवश्यक छ ।