Breaking

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने


काठमाडौँ — संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । दुई छोराहरू विदेशमा रहेको र उनीहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्येष्टि गर्न लागिएको एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । उनको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो । बुधबार पनि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने उनले बताए ।

नेम्वाङले संविधान निर्माणका क्रममा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरिसकेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले बिहीबार सार्वजनिक बिदा हुनेछ । घरकै शौचालयमा लडेका नेम्वाङलाई राति १ः३० बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले मंगलबार बिहान ३ बजे मृत घोषणा गरेका थिए ।