Breaking

कहिले नहारेका सुवास नेम्वाङ अस्ताए (भिडियोसहित)

अधुरै रह्यो राष्ट्रपति बन्ने सपना


काठमाडौँ – संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । नेपालको राजनीति र कानुनी क्षेत्रमा नेम्वाङको योगदान अतुलनीय छ । ०
‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरून् झुकेर पाउमा विन्ती मान्दैन त्यो ।’
कवि शिरोमणि लेखनाथ पौड्यालले भनेजस्तै मृत्यु न त कसैले छेक्न सक्छ न कसैले टार्न नै । अन्तिम सत्य भनेकै जन्मेपछि मृत्यु नै हो । नेपालको राजनीति र कानुनी क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भयो ।

वौद्धिक राजनीतिज्ञ, राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको छ । देशले कुशल र दुरदर्शी नेता गुमाएको छ । राजनीतिमा सत्तास्वार्थ हावी भएको बेला नेम्वाङले दलका नेताहरूलाई विवेकको राजनीतिमा प्रेरित गरिरहन्थे । त्यसैले नेम्वाङको निधनमा सिंगो देश स्तब्ध बनेको छ । आम नेपालीको आखा रसाएका छन् ।

इलामको सुन्तलाबारीमा २००९ साल फागुन २८ गते जन्मिएका नेम्वाङले विद्यार्थी जीवनदेखि नै राजनीति थालेका हुन् । इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर उनी २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका थिए । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भएका थिए ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए । २०५४ को छैटौं महाधिवेशनदेखि निरन्तर एमालेको केन्द्रीय कमिटीमा रहेका नेम्वाङ २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट उपाध्यक्ष बनेका थिए । उनी २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य पनि भएका थिए । कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासनमन्त्री तथा संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएका थिए ।

इलामेली जनताको मनमुटुमा बस्न सफल नेम्वाङले २०५६ सालदेखि निरन्तर संसदीय निर्वाचन जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित भएका थिए । दुबै संविधान सभाको उनी अध्यक्ष हुन् ।

२०७४ को संसदीय निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट उनी फेरि निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि उनी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका थिए । गत पुसमा भएको राष्ट्रपति निर्वाचनमा पनि नेम्वाङ उम्मेदवार थिए । तर, उनी सत्तारूढ गठबन्धनका रामचन्द्र पौडेलसँग पराजित हुन पुगे । आफ्नो जीवनको स्वर्णिम समय राजनीति र कानुनी क्षेत्रमा समर्पित गरेका नेम्वाङको योगदान इतिहासको पाना सुरक्षित भइसकेको छ ।