Breaking

पार्टी विभाजनप्रति नेम्वाङ निकै दुःखी हुनुहुन्थ्यो : झलनाथ खनाल


काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन् ।

आज वक्तव्य जारी गर्दै उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्यौं’, नेता खनालले भने, ‘मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को-अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्यौं ।’

आफूहरू अलग–अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी भएको बताए । ‘मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो’, उनले भने ।

नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित भएको उल्लेख गर्दै उनले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्त्वपूर्ण योगदान दिएको बताए । नेम्वाङ भौतिक रूपमा नरहे पनि नेपालको कम्युनिष्ट, लोकतान्त्रिक र समाजवादी आन्दोलनमा गरेको योगदान सबैका सामु स्पष्ट रहेको उनको भनाइ छ ।

पूर्व सभामुख एवं वर्तमान सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।