देश

बजारमा बढ्यो कालोबजारी, महंगीले उपभोक्ताको ढाड सेकियो, अनुगमनको प्रभाव सून्य


काठमाडौँ — नेपाली जनता अहिले चर्काे मूल्यवृद्धिका साथ जीवनयापन गर्न बाध्य छन् । बजारमा हरेक सामानको मूल्य छोइ नसक्नु गरि अचाक्ली बढेको छ । त्यसै त व्यापारीहरुको राज चल्ने बजारमा चाडवाड नजिकिँदै गर्दा झन् उपभोक्ताको ढाड सेक्ने गरि बजार भाउ महंगिएको छ । त्यसो त बजार यसै पनि महंगिएको नै छ । तर अहिले नेपालीहरुको घर आँगनमा नै आइसकेको चाडपर्वको मुखमा झन् अचाक्ली मुल्य वृद्धिको मारमा जनता परिरहेका छन् ।

भारतबाट चामल निर्यातमा प्रतिबन्ध लाग्दा चामलको मुल्य छोइ नसक्नु छ भने दाल, मसला, जिरा लगायत अन्य खाद्यान्नको मुल्य पनि आकाशिएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य पसलै पिच्छे फरक फरक हुँदा आम उपभोक्ताकोजीवनयापन कष्टकर बन्दै गएको छ । नुनदेखि सुनसम्म चौतर्फी मूल्यवृद्धिका कारण नागरिक मारमा छन् । सेवाका लागि भन्दा पनि फाईदाकै लागि व्यापार गर्ने व्यापारीलाई चाडवाड मौकामा चौका हान्ने अवसर मिलेको छ ।

बजारमा व्यापारीको मनमानी मूल्यवृद्धिले गर्दा उपभोक्ताको ढाड नराम्रोसँग सेकिएको छ । तर,यसको नियमन गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने आफूहरुले दैनिक अनुगमन गर्दै आएको बताउँछ । विभागले नियमित, उजुरी र आशंकाका आधारमा तीन किसिमले बजारको अनुगमन गर्छ । गत आर्थिक वर्षमा सरकारले ३५ सय अनुगमन गर्न लक्ष्य दिए पनि ३६ सय ९५ अनुगमन गरेको विभागको दावी छ ।

विभागले कसूरको प्रकृति अनुसार न्यूनतम ५ हजारदेखि तीन लाखसम्म र गम्भीर किसिमको कसूरलाई मुद्धा चलाउनेसम्मको कारवाही गर्ने कानुन भएको बताउने विभागको अनुगमनले जनतामा खास्सै प्रभाव भने पार्न सकेको छैन । बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महंगी नियन्त्रणमा आउन सकेको छैन ।

जनैपूर्णिमा लागेपछि नेपालीहरुको चाडपर्व सुरु हुन्छ भन्ने पुरानो चलन छ । जनैपूर्णिमालाई घरभित्र हुलेसँगै हरितालिका तीज, बडादशै, तिहारजस्ता ठूला पर्व नेपालीहरुको घरआँगन नै आईपुगेको संकेत गर्ने बुझाई स्थापित हुँदै आएको पनि छ । चाडवाड नजिकिएसँगै बजार पनि निक्कै महंगिने गर्छ ।सरकारले चाड पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकतामा त राख्छ, तर अनुगमन कर्मकाण्डीमात्रै बन्दा उपभोक्ता महंगीको मारबाट मुक्त भने हुन सकेका छैनन् ।

आम उपभोक्ता, नीजि साझेदार, व्यापारी सबैले आआफ्नो भूमिका निभाई दिने हो भने स्वच्छ बजार बल्ल कायम हुन्छ । एउटा पसललाई कारवाही गर्दा त्यो क्षेत्रमा रहेका अन्य थुप्रै पसललाई कारवाही गरे सरह हुन्छ । ऐन, नियम विपरित काम गरियो भने चाहे जो सुकै होस् राज्यको नियामक निकायबाट उम्कन नसक्ने सन्देश दिन जरुरी छ ।