Breaking

ओलीलाई गाली गर्न माधव–प्रचण्डको देश दौडाह, गालीको भरमा कति दिन सत्ता टिक्छ ?


काठमाडौँ — ध्रुवीकृत भएको कम्युनिष्टलाई शक्तिशाली देखाउन गठन भएको समाजवादी मोर्चाको पूर्व कोशीदेखि पश्चिम कर्णालीसम्म नै सन्देशसभा भएको छ । ६ प्रदेशमा सभाको आयोजना गरेको मोर्चाको उद्देश्य र व्यवहारमा तारतम्यता नमिल्दा सन्देशसभा कर्मकण्डीमात्रै बन्न पुगेको छ । सरकारमा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विद्रोही विप्लव नेतृत्वको नेकपासहित असार ४ मा घोषणा भएको समाजवादी मोर्चा आफ्नो आधार तय गर्न यतिखेर सन्देश सभाको नाम दिँदै देश दौडाहामा छ । मोर्चाले सभामार्फत् जिल्ला तहसम्म नै संगठन विस्तार गर्ने नीति बनाएको भए पनि आफ्नो उद्देश्यलाई भने खास्सै प्राथमिकतामा राखेको छैन ।

सन्देश सभाले मोर्चालाई बलियो र तल्लो तहसम्म विश्वासिलो बनाउने भन्दा पनि आफ्नाको तारिफ र विपक्षीको खोइरो खन्ने सन्देश मात्रै दिएको छ । मोर्चाभित्रको मतभेद चिर्न भन्दा पनि एमालेलाई गाली गर्नमा नै मोर्चाले सन्देश सभाको मञ्चलाई प्रयोग गरेको छ । कार्यकर्तामा उर्जा जगाउने, एकले अर्काे पार्टीको अस्तित्व स्वीकार गर्ने र सम्बन्ध सुधारमा कार्यकर्तालाई सन्देश प्रवाह गर्नु पर्ने भए पनि ओलीकै विरोधमा नेताहरु बोली खर्च गरिरहेका छन् ।

वीरगञ्ज, बुटवल, सुर्खेत, पोखरा र होटौँडामा भएका हरेक सभामा एउटै भाषण गरेका नेताहरुले सोमबार विराटनगरमा सम्पन्न सन्देश सभामा पनि उही पुरानै बोली दोहोर्याए । नेताहरुले मोर्चाको आन्तरिक सम्बन्ध सुधारभन्दा पनि अधिकांश समय विपक्षीकै आलोचनामा खर्च गरे । पहिलो पटक विराटनगरको सन्देश सभामा सहभागी भएका जसपा अध्यक्ष उपेन्द्र यादवले खुद्राखुद्री काममा नअल्झिकन अघि बढ्नुपर्ने भन्दै प्रचण्डभन्दा ठूलो क्रान्तिकारी अरु कोही नभएको धारणा राखे । प्रचण्डको काम माधव र विप्लवलगायत मोर्चामा सामेल नेताको तारिफ गर्ने र विप्लव माधवको काम प्रचण्डलाई टुप्पोमा पुर्याउने मात्रै देखिएको छ ।

कम्युनिष्टको ब्राण्डबाट माथि उठेर संविधानले दिशा निर्देशन गरेको समाजवादलाई नै प्रमुख उद्देश्य बनाएर मोर्चाबन्दीमा दौडिएका नेताहरुको राष्ट्रिय राजनीतिको समस्या एउटै हो । ओलीलाई चुनौती दिन नै देउवाको भरमा सत्ता यात्रा गरिरहेको मोर्चाका दलहरुले सैद्धान्तिक धार स्प्रष्ट पार्न सकिरहेको छैन । अहिलेसम्म मोर्चाको सभालाई समीक्षा गर्दा विपक्षीलाई गाली गरेकै भरमा मोर्चाको अस्तित्व स्थापित गर्न खोज्ने हो भने नेकपाकै हालतमा पुग्ने विश्लेषकहरु बताउँछन् ।

एमसीसीमा प्रचण्ड र विप्लवको मनमुटाव हुँदा भदौ १४ गते सुर्खेतमा हुनु पर्ने सुदूरपश्चिमको सन्देश सभा स्थगित हुन पुगेको थियो । जुन भदौ २६ गते मंगलबार हुने कार्यक्रम तय भएको छ । तर, विप्लव अझै एमसीसीको विरुद्धमा नै हुँदा पनि त्यसलाई सुल्झाउनेतिर भन्दा प्रत्येक मञ्चमा आ–आफ्नै तारिफ गर्नमा मोर्चाका नेताको ध्यान छ । शीर्ष नेताहरुकै विचारमा बेमेल हुँदा हुँदै पनि देश दौडाहामा निक्लिएको समाजवादी मोर्चाको एजेण्डा कम प्राथमिकतामा पर्दा सन्देश सभा केबल कर्मकाण्डी बनेको छ ।