Breaking

फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने ३ जना पक्राउ


काठमाडौँ – वैदेशिक रोजगारीको नाममा विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ ।

फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ३३ लाख रुपैयाँ ठगी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली लम्किचुहा नगरपालिका-५ स्थाइ घर भई हाल काठमाडौँ महानगरपालिका २६ नयाँ बसपार्क बस्ने २३ वर्षका चित्रबहादुर मगर, स्याङ्जाको वालिङ नगरपालिका-१२ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरूङ र धादिङको ज्वालामुखी गाउँपालिका घर भई भक्तपुरको थिमी नगरपालिका- ३ बस्ने राजकुमार लामिछाने छन् ।

मगरले टर्की पठाई दिन्छु भन्दै निशान खड्कासँग २ लाख ५० हजार लिएका प्रहरीले जनाएको छ । रकम लिएपछि फरार भएका उनलाई सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी सर्बिया पठाइदिन्छु भन्दै तीन जनासँग १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछाने पक्राउ परेका हुन् ।

उनले बलराम थपामगरसहित ३ जनाबाट वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै पटक पटक गरी १७ लाख रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले काठमाडौंको मीनभवनबाट पक्राउ गरिएको हो ।

त्यसैगरी फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने स्याङ्जाको वालिङ नगरपालिका-१२ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले काठमाडौंको सुकेधाराबाट पक्राउ गेको छ ।

गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले फ्रान्समा होटलमा काम लगाइदिने र महिनाको एक लाख रुपैयाँभन्दा धेरै तलब हुने भन्दै रानाभाटलाई प्रलोभनमा पारेर १४ लाख रुपैयाँ असुलेका अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।