Breaking

बीपी पनि राजावादी नै थिए ! राजेन्द्र लिङ्देनले फकाउँदै कांग्रेस, ‘बीपी ब्राण्ड’ ब्यूँतिएला ?


काठमाडौँ– कांग्रेसको खस्कँदो साख र पार्टीप्रति युवा जमातको आकर्षण बढाउन बीपीको ११० औं जन्मजयन्तीको अवसर पारेर पार्टीले साहित्य महोत्सव गरेको छ ।बहुआयमिक व्यक्तित्व र प्रतिभाका धनी बीपीको राजनीतिक पाटोसँगै साहित्य सिर्जनाको पाटोको पनि उत्तिकै चर्चा हुँदा ‘बीपी’ ब्राण्डलाई ब्युताएर कांग्रेस र अरु दल पनि तंग्रिन खोजेको संकेत देखिन्छ । जन्मोत्सव र स्मृति दिवसमा मात्रै स्मरणमा आउने विश्वेश्वरप्रसाद कोइराला (बीपी)को नाम भजाउँदै कांग्रेस अहिलेसम्म नेपाली राजनीतिमा टिकिरहेको यथार्थ कोही कसैसँग लुकेको छैन । चाहे महाधिवेशन होस्, या निर्वाचन आउँदा वा कहीकतै आफूलाई अवसर पाउँदा विपीको अस्तु समेत प्रयोग गर्न कांग्रेस पछि हट्दैनन् ।

सत्तामा भएको कांग्रेसले समाजवादको कुरा त गर्छ तर, आफ्नै पार्टीले स्वास्थ्यमन्त्रालय सम्हालिरहेको बेलामा कान्ति अस्पतालमा उपचार नपाएर बालबालिकाको मृत्यु भईरहेको छ । नेताको व्यक्तिगत लाभका लागि भाषणको चर्को श्वर गुन्जायस हुन्छ तर व्यवहारत तारतम्य मिलेको देखिँदैन । पार्टीका एक तप्का बीपीका बहु आयामिक पाटो मध्ये साहित्यिक पाटोलाई युवासँग जोड्ने सूत्र ठम्याईरहँदा उद्घाटनमा नै पुगेका सभापति शेरबहादुर देउवा भने बीपीको राजनीतिक दर्शनमा जोड दिँदै स्वार्थ खोजिरहेका छन् ।

राजनीतिक रुपमा नेपालमा बीपीको विरासत कोही कसैले डगमगाउन नसक्ने खालको छ । पछिल्लो समय पार्टी दिशाहीन, गतिहीन र नीतिहीन मात्रै होइन कि अभिभावक नै नभएको जस्तो पनि बनेको छ । त्यसैले कांग्रेस गुटगुटमा विभाजित हुँदा पुनः ‘बीपी’कै ब्राण्डलाई ब्युँताएर पार्टी अघि बढ्न खोज्दै छ । कांग्रेसको एउटा खम्बाकै रुपमा रहेका बीपी पुत्र शशांक कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामथ्र्य आफूसँगमात्रै भएको बताईरहेका छन् । पार्टी सभापतिको कार्यशैलीमा असन्तुष्ट पक्षहरु कोइरालाकै नाम जोडेर अर्काे कोइरालाको विरासत स्थापित हुन प्रयासरत छन् ।

कांग्रेसले मात्रै होइन पञ्चायती विरोधी उनै बीपीलाई अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बोक्न खोज्दै छ । देशलाई अफ्ठेरो पर्दा राजासँग पनि मिल्नु पर्छ भन्ने मेलमिलापको नीतिलाई अघि बडाएका बीपीको राजासँग आफ्नो घाटी जोडिएको अभिव्यक्तिलाई नै लिएर कांग्रेससँग राप्रपा सम्बन्ध गाँस्न अग्रसर देखिन्छ । नीतिमा धुलमिल भईरहेको कांग्रेसलाई बीपीको त्यही पुरानो अभिव्यक्ति सम्झाउने कोशिस गर्दै राप्रपा पनि आफ्नो स्वार्थ सिद्ध गर्न खोज्दै छ । कोशीमा पनि सर्वदलीय सहमतिको आवश्यक देखिँदै गर्दा राष्ट्रिय मेलमिलापको सूत्रधार समेत रहेका बीपीको फेरो समात्दै कांग्रेसलाई राजसंस्था र हिन्दू धर्म फर्काउन भूमिका खेल्न अध्यक्ष लिङ्देन लागिपरेका छन् ।

अहिलेसम्म बीपीकै नाम भजाएर त्यसको ब्याज खाईरहेको कांग्रेस अब पनि बीपीकै नाममा राजनीतिक यात्रा तय गर्न चाहन्छ । युवापुस्ताले पुरानालाई नपत्याई रहेको अवस्थामा बीपीकै नाममा कांग्रेसप्रति आकर्षण गराउन कांग्रेस तत्पर छ । त्यस्तै नीतिमा अलमलिएको कांग्रेसले हिन्दू राज्य र राजतन्त्रको मुद्धा बोकोस् भन्ने स्वार्थले राप्रपा बीपीलाई बोक् न खोजिरहेकोए छ । आ–आफ्नै स्वार्थमा लिप्त राजनीतिज्ञहरुले विचार र नीतिलाई बाक्सामा ताल्चा लगाएर सत्ता यात्रा गर्नका लागि मात्र ‘बीपी’ ब्राण्ड ब्युँताउन खोजिरहेका छन् ।