Breaking

बीपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको छु: शेरबहादुर देउवा


काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउनुभएको छ । आइतवार कांग्रेस संस्थापक नेता बीपी कोईरालाको ११० औं जन्म जयन्तीका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव कार्यक्रममा देउवाले बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडिरहेको बताउनुभएको हो । उहाँले आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै नभइ अनुकरण पनि गर्दै आएको दाबी गर्नुभयो । उहाँले आफ्नो राजनीतिक प्रेरणाको स्रोत बिपी नै रहेको बताउनु भयो । उहाँले आज नेपाली काँग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मुल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताउनु भयो । उहाँले समयको अन्तरालसँगै आज मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको गुनासो गर्नुभयो ।