Breaking

नेता नै काट्छु मार्छु भन्दा सरकार मौन, बालेनदेखि प्रचण्डसम्मले जे पायो त्यहि बोल्छन् !


काठमाडौँ — सामाजिक सञ्जालमा आउने अभिव्यक्तिकै कारण जनताहरु अराजक भएको टिप्पणी गर्ने नेताहरु नागरिक भन्दा बढी अराजक छन् । आफूलाई रिस उठेकै भरमा प्रहरीलाई नै ज्यान मार्ने धम्की दिने अराजक नेताहरुले आफैलाई सर्वेसर्वा ठान्दा राष्ट्र नै विघटनतर्फ जाने खतरा बढ्दै गएको छ । देशमा देखिएको भ्रष्टाचार, अनियमितता र नेताहरुको कार्यशैलीले आम नागरिक आजित छन् । जसका कारण जनताको निराशा सामाजिक सञ्जालदेखि भौतिक रुपमा नै पनि देखिने गरेका छन् । नेताहरुमाथि जनताको आक्रोश पोखिँदा गत बुधबार मात्रै कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी नै प्रहार भयो । तर, जनतामा यो अराजकता बढ्दै जानुमा स्वयम् नेता र नेतृत्व नै जिम्मेवार छन् ।

जनताले सिक्ने भनेकै नेतृत्व तहबाट हो । विभिन्न कालखण्डमा नेतृत्व पंक्तिले दिने अराजक र भड्किलो अभिव्यक्तिकै कारण पनि त्यसको प्रभाव जनतामा परेको छ । यो देशको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै सत्तासीन हुँदै खेरि दुई लाख कार्यकर्ता सडकमा उतारेर शक्ति प्रदर्शनको नाममा हिंसालाई बढावा दिने अभिव्यक्ति दिन्छन् । मर्यादित हुनुपर्ने संसद्मा सांसदको शब्द चयन नै उत्तेजित हुन्छ । कांग्रेस सांसद सुनील शर्माले गृहमन्त्रीलाई सदनमा नै आतंककारीको संज्ञाबाट सम्बोधन गर्छन् । त्यस्तै, कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै प्रहरीकै परिवारलाई मार्ने धम्की दिएका छन् ।

एकातर्फ ट्राफिक प्रहरीले महानगरको गाडी रोकेकै भरमा सिंहदरबार जलाउँछु भन्दै गर्दा उता अर्का जनप्रतिनिधिले पनि खुला सभामा हिंसात्मक अभिव्यक्ति दिनुले जनता भन्दा नेताहरु झन् अराजक भएको पुष्टि गर्छ । जनताको आक्रोशित अभिव्यक्तिलाई अराजकता मौलाउँदै गएको र कानुन बनाएर भए पनि नियन्त्रण गर्नु पर्ने मनस्थितिमा पुगेका नेताहरु भने सम्यमित हुन सक्दैनन् । बहुलवादले व्यक्तिवादलाई प्रोत्साहित गर्दै जाँदा एकले अर्कालाई निषेध गर्ने र आफूलाई नै सर्वेसर्वा ठान्ने प्रवृत्ति हावी हुँदै गएको छ । जसले गर्दा नेताहरुको यस्ता अराजक अभिव्यक्तिले समाज हुँदै राष्ट्रलाई नै विघटनतर्फ उन्मुख गरिरहेको छ ।

आफूलाई रिस उठेकै भरमा सांसद् जस्तो पदमा रहेकाले सार्वजनिक सभामा नै मार्ने र काट्ने धम्की दिनुको जतिसुकै भत्सर्ना गरे पनि कम हुन्छ । देशद्रोही, राष्ट्रघाती, विदेशी दलाल, भ्रष्टाचारी जस्ता आरोप नेताहरुले एक अर्कालाई लगाउने सामान्य जस्तै बनेको छ । जनतालाई सम्यमित बनाउनु पर्ने नेताहरु नेतृत्वदेखि संसद्सम्म पुग्दा झन् उत्तेजित बनाउनतर्फ लागिपरेका छन् । राजनीति नै नबुझेकाहरु युवाकै भरमा नेता बन्दा यस्तो अवस्थाको सिर्जना भएको छ ।

नेताहरुप्रति सामाजिक सञ्जालमा आएको अभिव्यक्तिलाई लिएरै आम नागरिकको बोलीमा लगाम लगाउन एकै ठाउँमा उभिन नेताहरु तत्पर छन् । वाक् स्वतन्त्रतालाई लोकतन्त्रको ठूलो उपलब्धिको रुपमा अथ्र्याइरहँदा यो केबल नेताहरुकै लागि मात्रै भएको भान भएको छ ।

जनताको बोलीमा कानुन नै बनाएर अंकुश लगाउनुपर्ने मनस्थितिमा रहेका नेताहरु भने भड्किलो र उत्तेजित अभिव्यक्ति दिँदै अराजकता फैलाईरहेका छन् । जसले गर्दा सम्हालेर बोल्नुपर्नेहरु नेताकै अराजक अभिव्यक्ति नियन्त्रण बाहिर जाँदा देश विघटन तर्फ जाने खतरा बढेको छ । जनताको बोलीमा लगाम लगाउन पर्याे भन्ने राजनीतिज्ञहरुले पहिले आफ्नै बोलीमा लगाम लगाउनु पर्ने देखिन्छ ।