काठमाडौँ – अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौँ आउन लागेको हो ।
४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते सकिने नेपाली सेनाले जनाएको छ ।
नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच हुँदै आएको ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेलको नियमित अभ्यास हो ।
यो अभ्यासमा सहभागी हुन अमेरिकाबाट जुनियर लेभलका बिल्लादार सैनिक आज दिउँसो बन्दोबस्तीका सामानसहित अमेरिकी सेनाकै विमानबाट काठमाडौँ आउन लागेको नेपाली सेनाले जनाएको छ । अमेरिकी सेनाको उक्त विमान भने भदौ २२ गते नै फर्किने छ ।
अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता, प्रतिआतंकवाद नियन्त्रण, शान्ति सेनामा खटिँदाको भूमिका लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदान प्रदान हुँदै आएको छ ।
यस्तै अभ्यासको सिलसिलामा सेनानी विवेक विक्रम शाहको कमाण्डमा १० सदस्यीय नेपाली सेनाको टोली भदौ २० गते बेलायत प्रस्थान गरेको छ ।
प्रतिक्रिया