Breaking

सन्दीपविरूद्धको मुद्दामा आज फैसला पेसी, आदेश आउने सम्भावना


काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरूद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको पेसी आजका लागि तोकिएको छ ।

मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो । यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि आजका लागि पेसी तोकिएको हो ।

अन्तिम बहस सकिएमा आजै आदेश आउने सम्भावना छ । सन्दीपले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ ।

ती किशोरीले एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको भनी गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए । यसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दियो ।