Breaking

महानगरको निर्णयविपरीत सार्वजनिक बिदामा खुले काठमाडौंका धेरै निजी कलेज


काठमाडौँ – काठमाडौँ महानगरपालिकाको चेतावनीविपरित आज सार्वजनिक बिदाको दिनपनि महानगर क्षेत्रका धेरै निजी कलेज सञ्चालन भएका छन्।

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजकि बिदा दिएको छ। तर, सरकारी बिदामा पनि काठमाडौंका धेरै निजी कलेजले पढाइ सञ्चालन गरेका छन्।

केही दिनअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न निजी कलेजका सञ्चालकहरुलाई चेतावनी दिएको थियो।

सरकारले सार्वजनिक बिदा दिएपनि काठमाडौं महानगरका कतिपय निजी कलेजले भने आजपनि बिदा दिएका छैनन्। नाम चलेका धेरैजसो कलेज आजपनि बिहानैबाट सञ्चालन भएका छन्।

तर, सरकारी स्कुल कलेजहरुले भने आज बिदा दिएका छन्।

गएको शुक्रबार परेको सापारु र रोपाइँ जात्राको अवसरमा काठमाडौं महानगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो।

तर, महानगरपालिकाले दिएको सार्वजनिक बिदाको दिनमा पनि कतिपय नीजि विद्यालय सञ्चालन भएको पाइएपछि महानगरपालिकाको शिक्षा शाखाले विज्ञप्ति निकालेर बिदाको दिनमा विद्यालय सञ्चालन नगर्न सचेत गराएको थियो।

निर्णय उलंघन गर्दै खुलेका विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत महानगरपालिकाले दिएको थियो।