Breaking

क्रिकेटको सफलताको जस लिँदै प्रचण्ड सरकार, लगाव देखाएका नेताले भविष्यका लागि के गर्लान् ?


काठमाडौँ — क्रिकेट नेपालीका लागि खुशी हुने माध्यम बन्दै आएको छ । विश्वको खुशी हुने देशको सूचीमा पर्ने नेपालका लागि क्रिकेटले पनि ठूलो योगदान छ । देशको राष्ट्रिय राजनीतिले निराश बन्ने नेपालीको आशा क्रिकेटले सारा नेपालीलाई खुशी प्रदान गरे पनि क्रिकेट र खेलाडी भने सधै राज्यको उपेक्षामा पर्ने गरेका छन् । दुई दशक लामो समयदेखि प्रतीक्षारत नेपाली र नेपाली क्रिकेटको सपना जारी एसिया कपले पुरा गरिदिएको छ ।

नेपाली क्रिकेट इतिहासमा सुनौलो अध्याय लेख्न सफलनेपालले भारत र पाकिस्तान जस्ता क्रिकेटको विश्वका पावर हाउस राष्ट्रसँग प्रतिष्पर्धा गर्न आफूहरु पनि सक्षम रहेको सावित गरेका छन् । पहिलो पटक एसिया कपको मञ्चमा आफुलाई प्रस्तुत गर्दै गर्दा नेपाली टिमले सारा क्रिकेट प्रेमीको मन जित्न सफल भएको छ । पाकिस्तानसँगको पहिलो खेलमा ब्याटिङमा चुके पनि नेपालले भारतसँगको खेलमा भने कमजोरीलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गरे ।

अनुभवकै कारण पाकिस्तानसँग २३८ रन र भारतसँग १० विकेटले नै पराजित भए पनि प्रतियोगितमा गरेको निडर प्रदर्शनले नेपाली टिमको अहिले विश्व क्रिकेट जगत्मा प्रशंसा भइरहेको छ। सारा विश्वलाई आफ्नो खेल कौशल देखाएर वाहवाही बटुलिरहेको नेपालले सोचे जस्तो नतीजा निकाल्न नसके पनि पाएको अवसरमा कडा उत्रेका खेलाडीले उनीहरुको प्रदर्शनमा चित्त बुझाउने ठाउँ भने प्रशस्त छोडेका छन् । कम अनुभवी खेलाडीले बलिया प्रतिद्वन्द्वीविरुद्ध सम्झन लायक खेल दर्शाएको कप्तानको पनि भनाई छ ।

दशकौंदेखि क्रिकेटमा उदीयमान राष्ट्रकै हैसियतमा मख्ख नेपालले विश्व वरियताको पहिलो र तेस्रो नम्बरमा भएको टोलीसँग सामना गर्दै गर्दा खेलाडी, कलाकार राजनीतिज्ञ सबै उनीहरुकै साथमा देखिएका थिए । राष्ट्रपतिदेखि प्रधानमन्त्री र राजनीतिक दलका नेतृत्वले हौसला प्रदानमा कुनै कञ्जुस्याई देखाएनन् ।

तर, खेलको समयमा खेलाडीसँग देखिएका उनीहरुले क्रिकेट विकासका लागि गरेका काम झट् स्मरणमा आउँदैन । विभिन्न समयमा उधारो पुरस्कार राशीको घोषणा गर्नुबाहेक राज्यको प्रयत्न क्रिकेट विकासमा खास्सै देखिँदैन । सदनमा यस्ता विषयले स्थान पाए पनि सम्बन्धित निकायको खेल विकासमा भन्दा व्यक्ति विकासमा ध्यान जाँदा मूर्त रुप पाउन सकेको छैन । पूर्वाधार निर्माणमा पनि कुनै चासो नदिने सरकार यी यस्ता खाले सबै समस्याबारे जानकार नै भए पनि कुनै पहल कदमी अघि बढाउन असक्षम भईरहेको छ ।

देशका तल्लो तह देखि नेता र नेतृत्वले नै क्रिकेटमा भविष्य छ भन्ने बुझेका छन् । तर, चुनावी मुद्धामा नै सीमित खेल क्षेत्र राज्यको उपेक्षामा पर्दै आईरहेको छ । चार वर्षअघि झण्डै ४ अर्ब बजेट छुट्याए पनि अहिले भने जम्मा दुई अर्ब ८७ करोड ५७ लाखमा बजेट खुम्चिएको छ ।

मूलपानी क्रिकेट रंगशाला निर्माणको कुरा चलेको दुई दशक हुनै लाग्दा राखेपको मातहतमा रहेको तल्लो रंगशालाको अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन । खेलाडीको मेहनतबाट प्राप्त सफलतालाई पनि आफ्नै सरकार कारक रहेको बताउने सत्तारुढ दलका नेताहरु लाज पनि लजाउने गरि बोल्ने बित्तिकै रातारात पूर्वाधार निर्माण हुन नसक्ने अभिव्यक्ति दिन्छन् ।

बलेको आगो मात्रै ताप्ने प्रवृत्तिमा नै रमाईरहेका निकायको उच्च प्राथमिकतामा क्रिकेट परेको जस्तो देखिए पनि केही दिनमा नै यो चटक्कै बिर्सने छ । बिर्सने परम्परा नै रहेको नेपाली नेतृत्वमा फेरि पनि क्रिकेट प्रतिको लगाव आउन अर्काे एउटा सफलता हात पर्नु पर्ने छ ।

अहिले क्रिकेटको जस्तै क्रेज भएको फुटबलको स्थिति सर्वविदितै छ । ४० भन्दा बढी राष्ट्रिय खेलाडीले फुटबलमा भन्दा विदेशमा आफ्नो भविष्य सुनिश्चित देखेर पलायन भएका छन् । खेलाडीको मेहनतबाट प्राप्त उपलब्धिमा पनि आफ्नै हात देख्ने र सफलताको जस लिने सरकार क्रिकेट खेलाडीलाई पनि यस्तै नियती भोग्न दिने हो भने, विगतको परम्परालाई सच्याएर अघि बढ्न जरुरी भईसकेको छ ।