काठमाडौँ — सरकारको हेलो सरकार सेवामा सर्पसाधरणको चासो ह्वात्तै बढेको छ । आइतबारदेखि २४ सै घण्टा सेवा प्रवाह कार्यन्वयनमा आएसँगै गुनासो टिपाउने संख्या झन्डै तेब्बर भएको छ । सार्वजनिक सेवा प्रवाह विकास, ठगी, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइदेखि व्यक्तिगत विषयमा समेत नागरिकको गुनासो आउने गरेको छ । साथै फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप, इमेललगायत डिजिटल माध्यममार्फत पनि आफ्नो गुनासो टिपाउन सक्छन ।
त्यस्तै भौतिक रुपमै पनि हेलो सरकारको कार्यलय सिंहदरवारमा आफ्ना गुनासो राख्न सक्छन । १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकार सेवालाई प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउँदै जनसेवा सवलीकरणका निम्ति २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । यसअघि दुई सिफ्ट कर्मचारी राखेर सेवा प्रवाह गरिरहेकोमा भदौ १७ गतेदेखि तीन सिफ्ट कर्मचारी राखेर २४ घण्टे सेवा दिन थालेपनि हेलो सरकारमा सर्वसाधरणको गुनासोको आईरो नै लाग्न थालेको छ ।
यसअघि दैनिक ७० देखि ८० वटा गुनासो आउने टोल फ्रि नम्बर ११११ मा मात्रै २४ घण्टै सेवा सुचारु भएपछि दैनिक ५ सयको हाराहारीमा गुनासाहरु आउन थालेका छन । अन्य माध्यमहरुबाट पनि गुनासो टिपाउनेको संख्या झन्डै तेब्बर भएको जनाएको छ । २४ घण्टे सेवा कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासाहरु ह्वात्तै बढेका छन । आम सर्वसाधरणले आफ्नो समस्या वा गुनासो मात्रै नभई सुझावहरु समेत दिने गरेका छन ।
आम सर्वसाधरणले सहकारी ठगी, अनलाइन ठगी देखि संघ, प्रदेश र विशेषगरी स्थानीय तहले विकास निर्माणमा गरेका ढिलाई र अनियमिततावारे गुनासो टिपाउने गरेका छन । सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासाहरु आउने गरेको छ । सर्वसाधरणबाट प्राप्त गुनासोलाई हेलो सरकारको डेस्कले प्राप्त गर्नसाथ सामस्याको प्रकृति हेरेर तत्कालै सम्बोधन गर्न सक्ने विषयलाई डेस्क मार्फत नै सम्बोधन गर्ने र अन्य विषयलाई तत्ततत्त निकायमा खबर गर्ने सोको जानकारी सम्बन्धित निवेदकलाई दिने, गुनासो सम्बोधन भए नभएको समेत निगरानी समेत गर्ने जनाएको छ ।
सरकार र नागरिकबीचको सम्बन्धलाई घनिष्ट गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय र सशक्त बनाउने अवधारणासहित २०६८ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले हेलो सरकारको सुरुवात गरेको थियो । तर जनताका गुनासा सुन्ने र तत्काल सम्बोधन गर्ने भनिए पनि एकाध प्रतिशत मात्रै गुनासो सम्बोधन भए । धेरै जसो गुनासो सम्बोधन हुन सकेन । जनताले गुनासो मात्रै गर्ने र सम्बोधन नहुने प्रवृत्तिका कारण प्रभावहिन बनेको हेलो सरकार आगामी दिनमा कति विश्वस्नीयता बनाउन सक्छ यसै भन्न मुस्किल छ ।


प्रतिक्रिया