Breaking

ओलीको भविश्यवाणी मिल्दै, प्रचण्डको गतिविधिले देउवा क्याम्पमा भूकम्प, अबको प्रधानमन्त्री को ?


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको भविश्य उनकै पछिल्लो अभिव्यक्तिले छताछुल्ल भईरहेको छ । सुर्खेतमा आफ्नो सरकार ७ दिन मात्रै टिकेपनि केही फरक नपर्ने तर ‘कसले आफूलाई हटाउँछ हेर्छु’ भनेर काठमाडौं फर्किएका उनी कीर्तिपुर पुगेर यो सरकार पाँचै वर्ष टिक्छ भन्न भ्याए । उनको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र नै प्रचण्डलाई धेरै समय काँध थाप्न नसकिने विषय उठ्न थालेको छ ।

सभापति देउवा निकट नेताहरुले नै सत्ता समिकिरणको विकल्प खोज्न थाल्दा प्रचण्डको सत्ता च्यूत हुने दिन नजिकिएको टिप्पणी सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिमा सत्ता गुम्नसक्ने भय छचल्किन थालेको छ । बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले ‘राम्रो काम गर्दा गर्दै कसले हटाउँछ हेर्छु’ भन्न भ्याए । उसो न नेकपा माओवादी केन्द्रका नेताहरुले पनि प्रचण्ड नेतृत्वको सरकारमाथि आक्रामक हमला भईरहेको बताईरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरूले दिँदै आएको अभिव्यक्तिले वर्तमान सरकार जोखिममा परेको विषय छरपष्टै छ । ज–जसले आफू नेतृत्वको सरकार ढाल्न खोजेपनि त्यो सफल नहुने, बरु यो सरकार पाँचै वर्ष टिक्ने प्रधानमन्त्री प्रचण्डको दाबी छ । सुर्खेतमा यो सरकार ७ दिन मात्रै टिकेपनि आफूहरुलाई केही फरक नपर्ने भनेर काठमाडौं फर्किएका उनले कीर्तिपुर पुगेर भने वर्तमान सरकार पाँचै वर्ष टिक्ने छाँट देखिएको बताए ।

सरकार ढाल्न खोजिएको भय सुर्खेतमा पोखिएको केही दिनमै आफ्नो नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने भनेर कीर्तिपुरबाट सन्देश छाड्नुमा केही न केही रहस्योद्घाटन हुँदै छ भन्ने लख काट्न पर जानुपर्दैन । प्रधानमन्त्री प्रचण्डको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्री स्वयम्लाई नै यो सरकार अब धेरै टाढा नजाने थाहा भईसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली छ ।

कहिले यो सरकार धेरै टाढा गएपनि फरक नपर्ने भन्ने त कहिले पाँचै वर्ष सरकार चलाउँछु भन्नु नै प्रचण्डभित्रको डर प्रकट भईरहेको उनको तर्क छ । प्रधानमन्त्री प्रचण्ड स्वयम्ले नै आफू नेतृत्वको सरकार ढल्ने स्वीकारिसकेकोले अब नयाँ धारबाट राजनीतिक गतिविधि अघि बढ्ने ओली बताउँछन् ।

गत पुस १० मा अहिलेका प्रतिपक्षी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अहिले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी,जसपा,जनमत र नागरिक उन्मुक्तिलगायत पार्टीको समर्थन छ। संसदमा ३२ सिट मात्रै रहेको माओवादी अध्यक्ष प्रचण्डलाई झण्डै तेब्बर बढी सिटसहित संसदको ठूलो दल कांग्रेसले प्रधानमन्त्री बनाएको छ। कांग्रेसको समर्थन रहुन्जेलसम्म प्रचण्ड प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आउँदैन। तर, कांग्रेसभित्र सभापति देउवालाई वर्तमान सरकारको विकल्प खोज्न दबाब बढिरहेको छ ।

यसअघि ईतर अर्थात शेखर–गगन समूहले प्रचण्ड नेतृत्वको सरकार ढाल्ने ठूलै कसरत गरिरहँदा अहिले भने देउवा कित्ताकै नेताहरुलेसमेत सत्ता समिकरण फेरबदल गर्नुपर्ने भन्न थालेका छन् । यहि भयले पनि प्रधानमन्त्री प्रचण्डलाई सताएको हुन सक्छ, जहाँ उनी सत्ताच्युतको डरमा अघि बढ्दै छन् । नेकपा एमाले र कांग्रेसभित्रको शेखर–गगन समूहले प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजिरहेको प्रयत्नमा देउवा निकट नेताहरु नै होष्टेमा हैंसे गर्न थालेपछि प्रचण्ड नेतृत्वको सरकार धेरै उता जाँदैन कि भन्ने टिप्पणी भएको हो । अब प्रचण्डको भारी नेपाली कांग्रेसले धेरै बोक्न नसक्ने बताउँछन्, देउवा निकट मानिने केन्द्रीय सदस्य नैनसिंह महर ।

विभिन्न प्रकरणका फाईल खोलेर चर्चामा आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ कांग्रेस सभापति शेरबहादुर देउवालाई गलपासो बनिरहेको छ । दोषी जो कसैलाई पनि नछाड्ने भन्दै हिँडेका गृहमन्त्री श्रेष्ठलाई हटाउन देउवाले प्रधानमन्त्री प्रचण्डमाथि निक्कै दबाब दिईरहेका छन् । देउवाकै दबाब मानेर गृहमन्त्री श्रेष्ठलाई हटाउँदा जनतामा गलत सन्देश जाने भय प्रधानमन्त्री प्रचण्डसँग छ । सरकारको सुशासन अभियानमा पछिल्लो समय कर्मचारी प्रशासनलेसमेत असहयोग गगर्न थालेको चर्चा छ ।

हस्ताक्षर गर्न लगाउनेहरुले धमाधम उन्मुक्ति पाउँदा हस्ताक्षर गर्नेहरु प्रहरी हिरासतमा पुग्दा कर्मचारीहरु सरकारले भनेकै भरमा हस्ताक्षर गरेर आफू फस्ने पक्षमा छैनन्, यसले प्रधानमन्त्री प्रचण्ड थप संकटउन्मुख छन् भन्ने संकेत हो । देउवा–प्रचण्डबीचको खटपटलाई कोशी प्रदेशले पनि सहयोग गरिरहेको देखिन्छ । कोशीमा कांग्रेस नेतृत्वको सरकारलाई वैधानिकता दिन प्रधानमन्त्री प्रचण्ड मरिमेटेरै लागि परेका छन् ।

सुरुमा बाबुराम गौतमलाई प्रदेश सभामुखबाट राजीनामा गराएर सांसद कायम गराएको माओवादी केन्द्रले आफ्नो हातमा परेको दुईवटा संसदीय समितिमध्ये एउटा समितिको जिम्मेवारी राप्रपालाई सुम्पियो । तर, जब, माओवादीको भागमा परेको एउटा समिति हत्याईयो, त्यसपछि राप्रपाको बोली पनि फेरियो ।

जुनसुकै अवस्थामा जस्तो परिस्थितिको सामना गर्नुपर्ने पूर्व आंकलन अनुसार ३२ सिटे शक्तिलाई समाजवादी मोर्चा बनाएर ५४ सिटको शक्तिमा छन् प्रधानमन्त्री प्रचण्ड । तर, राजनीतिक आधार गुम्दै गएकोले प्रचण्ड नेतृत्वको सरकार जोगाउन मुस्किल रहेको र गठबन्धनबीचको सहमति जुनसुकै समयमा भत्कन सकिने बताउँछन् राजनीतिक विश्लेषकहरु ।

आफ्नो कार्यकाल पाँच वर्ष नै टिक्ने या एक हप्तामै ढल्ने भन्नेमा ढुक्क हुन नसकेकाप्रधानमन्त्री प्रचण्डको राजनीतिक आधार भने कमजोर देखिन्छ । उनको आत्मबलले मात्रै कांग्रेसले संधै काँध थाप्न नसक्ने आँकलनलाई पछिल्लो गतिविधिले पनि बल पुर्याईैरहेकै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निरन्तर वर्तमान सत्ता समिकरण फेरबदलको कोसिस गरिरहँदा एमालेका महाससचिवसहितको जम्बो टोली चीनतर्फ प्रस्थान गरेको र उनीहरुले केसन्देश बोकेर आउँछ त्यसले पनि निर्भर गर्ने देखिन्छ ।

केही दिनअघि माओवादी केन्द्रका महासचिव देव गुरुङ नेतृत्वको टोलीसमेत चीन पुगेर फर्किएको, एमालेका नेताहरु पनि चीन भ्रमणमा रहेको, जसपा अध्यक्ष उपेन्द्र यादवले पनि भारतबाट केही न केही सन्देश बोकेर आउने देखिँदा प्रधानमन्त्री प्रचण्डकोे नेतृत्वमा रहेको अहिलेको सत्ता समिकरण फेरबदल हुन्छ, एमाले–माओवादी सम्मिलित सरकार फेरि बन्छ या माओवादी केन्द्र विपक्षी कित्तामा पुग्ने अवस्था रहन्छ, त्यो हेर्न धेरै समय कुर्नुपर्दैन ।