काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोली सोमबार पहिलो पटक भारतीय राष्ट्रिय क्रिकेट टोलीसँग खेल्दैछ । पहिलो भेटमा नै स्तब्ध पार्ने लक्ष्यमा रहेको नेपालको लक्ष्य भारतलाई हराउँदै एसिया कपको सुपर फोरमा पुग्ने लक्ष्य छ । भदौ १८ गते सोमबार नेपाल र नेपाली क्रिकेटका लागि अहिलेसम्मकै सबै भन्दा ठूलो दिन हुने छ । किने भने नेपाली क्रिकेट प्रेमीहरुको कल्पनामा मात्रै रहेको भारत विरुद्ध खेल्ने सपना यथार्थमा नै परिणत हुँदै छ ।
विश्व क्रिकेट जगत्को मैदान र बाहिर पनि राज गरिरहेको भारतविरुद्ध नेपाली खेलाडीहरु सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार ३ः४५ मा मैदान उत्रदैछन् । राजनीतिक देखि आर्थिक र अन्य खेलसहित हरेक क्षेत्रमा नेपालमाथि दवदवा राखेको भारतको उक्त खेल नेपालीका लागि अहिलेसम्मकै सबैभन्दा प्रतीक्षाको खेल हुने निश्चित छ । क्रिकेटको पावर हाउस भारतको उमेरसमूहमा नेपालले खेल्दै आए पनि राष्ट्रिय टोलीसँग खेख्ने अवसर प्राप्त गरेको भने यो नै पहिलो पटक हो । आईसीसीको तेस्रो वरियतामा रहेको भारतविरुद्धको खेल हुँदै गर्दा मैदान र मैदानबाहिरै बाट पनि नेपाली दर्शकहरुले ठूलो साथ र समर्थनको अपेक्षा गरिएको छ ।
खेलाडीलाई हौसला प्रदान गर्न कै लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र हप्ता दिनको सुत्केरी पत्नीलाई पनि छोडेर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह श्रीलंकाका लागि उडिसकेका छन् । भारतसँगको खेलका लागि उत्साहित हुँदै गर्दा मौसमले साथ नदिने सम्भावना पनि उत्तिकै छ । मौसम पूर्वानुमानका अनुसार सोमबार खेल हुने समयमा ७० प्रतिशतसम्म वर्षाको सम्भावना हुँदा खेल बिथोलन पनि सक्छ ।
यदि यस्तो भएको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिने छ । पाकिस्तानले भने दुई खेलमा तीन अंक जोड्दै सुपर चारमा आफ्नो स्थान पक्का गरिसकेको छ । पाकिस्तानले नेपाललाई हराउँदा वर्षाका कारण भारतसँग भने अंक बाडेको थियो ।
भारतसँग खेल्दा नेपाललाई गुमाउनु केहि छैन । बरु राम्रो गर्न सके अवसरै अवसरका ढोकाहरु खुल्नेछ । नेपाल जस्तो एसोसिएट देशले भारत जस्तो विश्वको प्रमुख टोलीलाई हराएको खण्डमा सुपर चारमा स्थान बनाएर शीर्ष दुईमा पर्दै फाइनल सम्मको यात्रा तय गर्न सक्ने सम्भावना रहने छ ।
भारत र पाकिस्ताको खेल शनिबार वर्षाका कारण रद्द हुँदा एक÷एक अंक बाड्नु पर्दा भारतलाई पनि जित्नै पर्ने दवाव छ । दुवै टोली गर या मरको अवस्थमा हुँदा भारतजस्तो टोलीलाई हराउन नेपालले जादुमयी प्रदर्शन नै गर्नुपर्ने छ । त्यस्तै गत बुधबार पनि नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन नै रह्यो । किन भने नेपाली क्रिकेट टोलीले विश्व वरियताको पहिलो स्थानमा रहेको पाकिस्तानसँग उनीहरुकै घरेलु मैदानमा प्रतिष्पर्धा गरेको थियो ।
खेलबाट निस्किएको नतीजा नेपाल र नेपालीका लागि सुखद् हुन नसके पनि उक्त खेलबाट सिक्ने अवसर भने धेरै नै मिलेको छ । भारत र पाकिस्तान जस्तो देशसँगको खेलले आगामी अन्तरर्राष्ट्रिय प्रतियोगितामा अन्य ठूला राष्ट्रसँग पनि खेल्न हौसला मिल्ने छ ।
प्रतिक्रिया