Breaking

डामाडोल अर्थतन्त्र, लगानिकर्ताको मनोबल खस्कियो, समाधानतर्फ सरकारको ध्यान खै ?


काठमाडौँ — सङ्कटमा गुज्रिरहेको नेपालको अर्थतन्त्रबारे नीजि क्षेत्रले चिन्ता व्यक्त गर्दै आएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा नै व्यापार घाटा उच्च रहेको तथ्याङक सार्वजनिक हुँदा व्यवसायीहरु समाधानको उपाय खोज्न सरकारलाई घच्घच्याईरहेका छन् । सरकार भने विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेको र गत वर्षको तुलनामा राजश्व पनि वृद्धि भइरहेकोले अर्थतन्त्र सुधारको संकेत देखिएको दाबी गर्न थालेको छ ।

देशको अर्थतन्त्रले गति लिन नसकेकोमा आम नागरिक र नीजि क्षेत्रले जति चिन्ता व्यक्त गर्दै आएका छन्, यस्तोमा सरकारको गाम्भीर्यता भने त्यति देखिँदैन ।रोजगारको अबसर नहुदाँ बैदेशिक रोजगारमा जानेको सङख्या दिनप्रतिदिन बढ्दै जाँदा सरकार भने विदेशी रेमिट्यान्सलाई नै उपलब्धि मानेर बसिरहेको छ । सरकारले निजि क्षेत्रलाई बेवस्था गरेकोले देश आर्थिक सङकटमा रहेको व्यवसायीहरुको छ । नजी क्षेत्रले दिने सुझावलाई बेवास्ता गर्दा र कार्यान्वयन नगर्दा देशको अर्थतन्त्र अहिलेको अवस्थामा आएको बताउँछन् नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल । अर्थतन्त्रबारे नकारात्मक टिप्पणी मात्रै गरेकोले पनि लगानीकर्ताको मनोबल खस्किएको उनको तर्क छ ।

खस्किएको अर्थतन्त्रलाई माथि उकास्न अहलेकै प्रयास मात्रै पर्याप्त नरहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको बुझाई छ । अर्थतन्त्रलाई सही ट्रयाकमा लैजान नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण लगायतका रेगुलेटरले गरेका निर्णयलाई सरकारले सच्याउनुपर्ने तर्क उनी गर्छन् । अध्यक्ष मल्लका भनाई अनुसार आम जनता र लगानी कर्तामा आत्मविश्वासको कमी हुँदै गएकोले सरकारले निजी क्षेत्रको आत्मबल बढाउने गरी काम गर्नुपर्छ ।

बिग्रिएको अर्थतन्त्र उकास्न निक्कै मिहेनत गर्नुपर्ने आवाज नीजि क्षेत्रबाट आईरहँदा सरकार भने आर्थिक गतिविधि अब छिटै चलायमान हुने आश्वासन बाँढेर बसिरहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार आर्थिक गतिविधि चलायमान बनाउन र समस्या समाधान गर्नतर्फ लागिरहेको दाबी गर्छन् । देशको आर्थिक अवस्थालाई सुधार गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न उनको आग्रह छ । अहिले नेपालमा पर्यटकको चाप बढीरहेको र विदेशी मुद्राको सञ्चिति पनि पर्याप्त रहेको र गत वर्षको तुलनामा राजश्व पनि वृद्धि भइरहेको उनले बताए ।

चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ ।

व्यापार घाटा भएपनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले कम हो । गत साउनमा आयातबाट मात्र कुल ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ ।भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएकाले व्यापार घाटा पनि कमी आएको हो । विभागले गत वर्षभन्दा १ दशमलव ५६ प्रतिशतले कम आयात भएको जनाएको छ ।