Breaking

देउवा–माधवलाई धोका दिँदैछन् प्रचण्ड, गठबन्धन भाँड्ने योजनाको पर्दाफास, पाँचै बर्ष प्रधानमन्त्री


काठमाडौँ — सत्ता गठबन्धनकै सहमति भंग हुनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले पाँचै बर्ष सत्ताको नेतृत्व गर्ने संकेत गरेका छन् ।जसले सत्ता गठबन्धनकै आयुमाथि प्रश्न उठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहमति भड्काउने बोली शनिबार चन्द्रागिरीमा प्याट्ट फुट्यो । पछिल्लो समय प्रचण्डले चालेका भ्रष्टाचार विरोधी कदम सत्ता बचाउने अस्त्रमात्रै थिए । नत्र सत्तासँग जोडिएका पात्रलाई तर्साउनुको साटो अनुसन्धानमा ल्याउँथे ।

तर पाँचै बर्ष कुर्सीमै विराजमान हुने स्वप्न पलाएपछि प्रचण्ड जे गर्दैछन् सबै कुर्सी बचाउने स्वार्थमा गर्दैछन् भन्ने आरोपहरुपुष्टि हुनेगरी शनिबार उनले भने, ‘अहिले त सरकारमा आएको आठ महिना हुँदैछ । लाग्दैछ पाँचै सरकारबाट हट्नु नपर्ने परिस्थिति बन्दैछ ।’

प्रधानमन्त्री प्रचण्डले आफु सत्ताबाट हट्नु नपर्ने कारण भने सरकारले गरिरहेका कामलाई देखाएका छन् ।जनताका पक्षमा इमान्दार भएर काम गरेको भन्दै आफ्नै नेतृत्वको सरकार पाँचै बर्ष टिक्ने दाबी उनको छ ।तर प्रचण्डको यो बोलीपछि सम्भवतः धुम्बाराहीमा चिसो पसेको हुनुपर्छ ।

कोटेश्वरको छट्पटी पनि बढ्न थालेको हुनुपर्छ । किनकि गठबन्धनको सहमतिअनुसार प्रचण्डपछि एकबर्ष प्रधानमन्त्री बन्ने पालो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको छ । त्यसपछि बाँकी डेढबर्षसहित चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछ । तर आफु पाँचै बर्ष सत्तामा टिक्न सक्ने खबर पठाएर देउवा–माधवलाई प्रचण्डले पछि हट्न सन्देश दिएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा माधवलाई निर्दाेष करार गरिदिएका प्रचण्डले सम्भवतः कुर्सीको आयुसँग मुद्दा साटेको विश्लेषण पनि भइरहेका छन् । यसैपनि राष्ट्रिय दलको मान्यतासम्म नपाएको १० सिटे समाजवादीलाई प्रधानमन्त्रीका रुपमा स्वीकार्ने अवस्था कमै छ । यता काँग्रेसका शक्तिशाली पात्रलाई तान्नसक्ने जोखिम देखिएपछि देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठकै राजीनामा माग गरेका थिए । देउवाकै तजबिजमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवा गरिसक्दासमेत देउवाको मन बिझाउने पात्र नारायणकाजी बनिरहेका छन् ।

प्रचण्ड भने नारायणकाजीलाई हटाएर पनि आफ्नो प्रधानमन्त्रीको आयु बढाउने कसरतमा छन्् । यसअघि नै पनि प्रधानमन्त्रीका लागि माओवादीले धेरै कुर्बान गरिसकेको छ । एकपछि अर्काे माओवादीका मन्त्रीहरुले त्याग गरिरहेका छन् । कोशी सरकार बचाउनका लागि राप्रपालाई सरकारमा ल्याउनेसम्मको योजना प्रचण्डको छ । त्यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उर्जामन्त्री दिएर शक्ति बस्नेतलाई फिर्ता बोलाउनेसम्मको तयारी देखिन्छ । यसअघि नै जनमतलाई पुनः सरकारमा भित्र्याउँदा माओवादीका अमनलाल मोदी बलिको बोको बन्नु परेको थियो ।

तैपनि उनको मन्त्री बन्ने रहर पनि पुरा भएको छ । प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्ने तर त्यसबाहेकका सबै पद छोड्न तयार छन् । यसका लागि एमालेसँग फेरि मिल्न जानुपरेपनि उनी पछि हट्ने छैनन् ।तर यसले सत्ता गठबन्धनकै आयुमाथि प्रश्न उठाएको छ । किनकि देउवाको काँधमा चढेर सत्ता सयर गरिरहेका उनका अघि धेरै चलाख बन्न खोज्दा काँग्रेस – एमालेको सहकार्य बन्न सक्ने जोखिम पनि छ ।