Breaking

नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्नेबाहेक कुनै उद्देश्य छैन: प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । शनिबार जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । पहिलो संगठित राजनीतिक आन्दोलन २००७ साल वरिपरि सम्पन्न भयो । यसले राणाशासन समाप्त गर्यो । दोस्रो महत्वपूर्ण आन्दोलन २०४६ सालको हो, जसले निरङ्कुश पञ्चायती व्यवस्था समाप्त गर्यो ।

तेस्रो १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको अवधि थियो । जसको बलमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले पार्टीले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्ने बताए । अब नयाँ अर्थात् समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने नयाँ राजनीतिक शक्ति आजको आवश्यकता हो। हाम्रै पार्टीले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्छ । यसका लागि कम्युनिस्ट आन्दोलनलाई युग, समय, चेतना र नयाँ पुस्ताको सपनाहरूसँग एकाकार गर्न सक्नुपर्दछ ।

साधारण नेतृत्वले पार्टी बनाउँछ । साधारण नेतृत्वले सरकार बनाउँछ। साधारण नेतृत्वले चुनावको पनि नेतृत्व गर्छ। तर, विशेष नेतृत्वले मात्रै आन्दोलन बनाउँछ, इतिहास बनाउँछ र बनाउँछ नयाँ युग । त्यसका लागि हामीले आफ्नै पुनर्गठन, सबलीकरण र रचनात्मक रूपान्तरण गर्नुपर्दछ । अनि मात्र यो पार्टीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्नसक्छ ।

युगको नेतृत्व गर्ने यो अवसरलाई गुम्न दिनुहुँदैन,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले आफ्नो जीवन संघर्ष र आन्दोलनभन्दा पर नरहेको बताउँदै देश र जनताप्रति समर्पित हुँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्नेबाहेक कुनै उद्देश्य नरहेको बताए ।