राजनीति

एमसीसी कार्यान्वयनको विषयलाई लिएर समाजवादी मोर्चाभित्र खटपट सुरु


काठमाडौँ– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर समाजवादी मोर्चाभित्र खटपट सुरु भएको छ । एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाउनुभएको थियो । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

बिहान साढे ७ बजे बालुवाटार पुगेका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गर्नुभएको थियो । तर प्रचण्डले एमसीसी कार्यन्वयनको चरणमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिनुभएको थियो । बैठकमा नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र स्थायी समिति सदस्य अनिल शर्मा सहभागी हुनुहुन्थ्यो । धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएको मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा पनि अन्तिम समयमा आएर स्थगित भयो ।