काठमाडौँ — नेकपा (एमाले) का नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण गर्नु अगाडि विमानमा प्राविधिक खराबी देखिएपछि काठमाडौँ फर्किएको छ ।
सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए । अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएको जानकारी गराएर काठमाडौँ नै फर्काएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए ।
नेकपा (एमाले) को सचिवालय बैठक सिराहाको सर्रे अम्बासमा बस्दै छ । बिहान ११ः ३० बजेदेखि बैठक सुरू हुने नेताहरूले बताएका छन् ।
बुद्ध एयरले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ फर्काउनु परेको जनाएको छ । काठमाडौँबाट जनकपुर उडान नं. ५०१ जहाज ९ एन–एजेशून्य कलसाइ भएको जहाजमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौँ अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाइएको जनाएको छ ।
बुद्ध एयरका अनुसार जहाजमा एमालेका नेताहरूका अतिरिक्त ६८ जना यात्रु थिए । एमालेले चौथो महाधिवेशन सुरू भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो । चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो ।
प्रतिक्रिया