Breaking

सभामुख घिमिरेले आज संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै


काठमाडौँ – सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गत १० वटा समितिका नवनिर्वाचित सभापतिहरूसँग छलफल गर्दै छन् ।

सभामुख घिमिरेको सचिवालयका अनुसार सभापतिहरूसँगको छलफल कार्यक्रम बिहान ११ बजे कानुन समितिको हलमा गर्ने तय गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत १० समितिको नेतृत्व सोमबार निर्विरोध चयन भएको हो । जसअनुसार अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा चयन भएकी छन् ।

यस्तै महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान निर्वाचित भएका छन् ।

सभापति निर्वाचनको अघिल्लो दिन आइतबार ९ वटा समितिमा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको थियो। तर सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै सभापति निर्विरोध चयन भएका हुन् ।