Breaking

एमसीसी आजदेखि कार्यान्वयनमा आउँदै


काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आजदेखि कार्यान्वयनमा आउँदै छ ।

सम्झौताअनुसार एमसीसी आज (१३ भदौ) देखि कार्यान्वयनमा आउन लागेको हो । यो परियोजना आजदेखि पाँच वर्षभित्रम सम्पन्न हुने सम्झौतामा उल्लेख छ । एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ । यसमा नेपालले १३ करोड डलर थप गरेको छ ।

यो सहयोगले काठमाडौँको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन् । यसमा कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि समेटिएको छ ।

यो परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो । नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ ।

सम्झौता अनुसार आजदेखि एससीसी कार्यान्वयनको मिति सुरु भए पनि यो परियोजनाका काम कसरी अघि बढ्छन्, प्रष्ट भइसकेको छैन । यसैबीच एमसीसी कार्यान्वयन हुने पहिलो दिन आज एमसीको विरोधमा पाँचवटा वामपन्थी दलले देशव्यापी प्रदर्शन गर्दैछन् ।

नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रूपमा तथा राष्ट्रिय जनमोर्चाले आज छुट्टै विरोध प्रदर्शन गर्न लागेका हुन्। ती दलले एमसीसी खारेजीको माग गर्दै आएका छन् ।

दिउँसो ३ बजे माइतीघर मण्डलामा चार दलले संयुक्त विरोध प्रदर्शन गर्दैछन् । त्यस्तै राष्ट्रिय जनमोर्चाले दिउँसो ३ बजे नै काठमाडौँको शान्तिवाटिकामा विरोध सभा गर्र्दैछ । नेपालमा एमसीसी कार्यान्वयनमा जाने अघिल्लो दिन एमसीसी उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।