Breaking

शिवानी हाईड्रोपावरको धन्धा, नक्कली प्रमाणपत्र बाँडेर स्थानीयलाई शेयर, पानी लगाएर गाउँ नै सखाप


काठमाडौँ — ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिकामा संचालित जलविद्युत आयोजनाका कारण स्थानीय गाउँ नै जोखिममा परेको छ । शिवानी हाईड्रोइलेक्ट्रीक प्रालिले मापदण्ड मिचेर संचालन गरिरहेको ४ मेगावाट क्षमताको विद्युत आयोजनाका कारण गाउँ नै पहिरोको चपेटामा परेको हो । कम्पनीमा शेयर हाल्न भन्दै नक्कली प्रमाणपत्र बाँडिरहेको शिवानी हाईड्रोपावरले एउटा पुरा गाउँ नै जोखिममा पारिरहेको छ ।

ताप्लेजुङ जिल्लास्थित फावा खोलाबाट पानि ल्याएर काबेली नदीकोे किनारमा शिवानी हाईड्रोपावरले संचालन गरेको जलबिधुत आयोजनाका कारण पाथिभरा याङबरक २ स्थित थेचम्बु गाउँ नै जोखिममा परेको छ । फावाखोलाबाट पावरस्टेशनमा पानी झार्न बिचमा बनाईएको ट्यांकीबाट ओभरफ्लो भएको पानी गाउँ पुच्छारमा रहेको खाल्डे भिरमा छोड्दा ठूलो पहिरो गएको छ । पहिरोको कारण गाउँ नै जोखिममा परेको र रातभर सुत्न नसकिएको स्थानीयले बताएका छन् । पहिरोको कारण केही नम्बरी जग्गा, घर, देबिथान र लिम्बु जातिले चिहानको रुपमा प्रयोग गर्दै आएको जमिन समेत तहसनहस भएको उनीहरुको भनाइ छ ।

गाउँको तलतिर रहेको भिरको पहिरोले ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदी समेत बेला बेला थुन्ने गरेको छ । पहिरोले थुन्दा नदिले धार परिवर्तन गर्दा पाँचथर तिरको जमिनमा समेत पहिरो जान थालेको स्थानीय बताउँछन् ।बर्षायाममा मात्रै होइन, बाह्रै महिना आयोजनाले भिरको टुप्पाबाट पानि खसाल्ने गरेको छ ।

पहिला गाई बस्तु र बाख्रा चराउन मिल्ने स्थानमा अहिले पहिरोका कारण अक्करको भिर बनेको छ । पटक पटक कम्पनि संचालक सुधिर प्रधानाङ्गलाई फोन गरेर समस्या राख्दापनि वास्ता नगरेको स्थानीयको गुनासो छ । यतिमात्रै होइन आयोजनाले कम्पनीमा शेयर हाल्न भन्दै स्थानीयसँग लाखौ रुपैयाँ उठाएको छ । तर शेयरको प्रमाणपत्र भन्दै आफुहरुलाई नक्कली कागज थमाएको स्थानीयको आरोप छ ।

शिवानी हाईड्रोइलेक्ट्रीक प्रालीका संचालक सुधिर प्रधानाङ्गसँग यस विषयमा बुझ्दा उनले भिरमा पहिरो नखसेको भन्दै आलटाल गर्ने कोशिस गरे । स्थानीयलाई कम्पनीले नक्कली प्रमाणपत्र बाँडेको बारे पनि उनी जवाफ छलेर पन्छिए । यता, कतैबाट आफ्नो समस्या समाधान र सुनुवाई नभएपछी स्थानीय विद्युत विकास बोर्डलाई गुहार्न बाध्य भएका छन् । यो समस्याको समाधान समयमै गर्न नसकिए काबेली नदीमा सञ्चालन भइरहेको काबेली ए परियोजनाको संरचना समेत पहिरोले पुर्नसक्ने र पाँचथर तर्फपनि पहिरो जाने जोखिम छ ।