Breaking

धार्मिक द्धन्दबारे बोले प्रधानमन्त्री, कुर्सी बलियो बनाउन दाउपेच, चीन भ्रमणको एजेण्डा के ?


काठमाडौँ — मंगलबारको प्रतिनिधिसभा सभा वैठकमा सांसदहरुले एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरे । बैठकअघि नै लिखित प्रश्न बुझेर रोस्टममा उभिएका प्रधानमन्त्री प्रचण्डले हरेक प्रश्नको लिखित जवाफ पढेर सुनाए । बैठकमा देखिएको सांसद र प्रधानमन्त्री प्रचण्डबीचको सवाल–जवाफलाई केवल नियमित प्रश्नको टालटुले उत्तरको रुपमा मात्रै चित्रण गरिएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ को नियम ५६ अन्तर्गतको उपनियम ५ मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ ।

सोहि व्यवस्था बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सांसदहरुको प्रश्नको सामना गरेका छन् । बैठकअघि नै सांसदहरुको लिखित प्रश्न बुझेका प्रधानमन्त्री प्रचण्डले लिखित नै जवाफ पढेर सुनाए । नियमावली अनुसार एउटा बैठकमा १५ जनासम्म सांसदले प्रश्न गर्न पाउने व्यवस्था भए पनि मंगलबार ११ सांसदले मात्र प्रश्न सोधे । कार्यतालिकामा १२ सांसदले प्रश्न सोध्ने उल्लेख गरे पनि एक जना सांसदले फिर्ता लिएका थिए । एक घण्टासम्म चलेको प्रश्नोत्तरमा पहिलो प्रश्नकर्ता उदय शमशेर राणाले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका एजेण्डाबारे प्रश्न उठाए । उनको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले यसरी जवाफ दिए ।

मंगलबारको प्रश्नोत्तरमा जातीय सद्भावमा खलल हुँदै गएको प्रसंगले पनि स्थान पायो । प्रधानमन्त्रीले जातीय, भाषिक र धार्मिक द्वन्द्वलाई बल्झाउने खालको अभिव्यक्ति दिएको भन्दै संविधान र शासन व्यवस्थाप्रति अनास्था वा अविश्वास बढेर हो भन्दै प्रचण्डमाथि कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले प्रश्न तेस्र्याईन् । जवाफमा प्रधानमन्त्रीले सामाजिक सद्भावमा खलल पार्ने वा एक अर्काको संस्कृति र धर्म विरुद्ध हुने द्वेषपूर्ण कार्यलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताएका छन् ।

संसद् सचिवालयमा दर्ता भएका लिखित प्रश्नको लिखित जवाफ बोकेर रोस्टम उक्लिएका प्रधानमन्त्री प्रचण्डको सुशासनको कार्यप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले असन्तुष्टि पोखेका थिए । पेशाले कला क्षेत्रका निर्देशकसमेत रहेका अशिम शाहले भ्रष्टाचारको कास्टिङमात्र हेर्न पाएको भन्दै प्रधानमन्त्रीलाई फिल्म कहिले देखाउने भन्दै प्रश्न गरेका थिए । छिमेकीले अन्तरिक्षमा यान पठाउँदै गर्दा नेपालले भने खाडीमा जवान पठाइरहेको र ‘एस म्यान’लाई बचाउन तर्फमात्र उद्दत रहेको आरोप लगाए । कुर्सी बलियो बनाउन छानीछानी राजनीतिक दाउपेच चालेका प्रचण्डलाई कामले जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वको आयु लामो बनाउँन सुझाव दिएका उनले जनताले खोजेको सुशासन कहिले आउँछ भन्दै प्रश्न गरे

लिखित बाहेक एक वाक्यांश बढी खर्च नगरेका प्रधानमन्त्री प्रचण्डसँग चीन भ्रमण, अर्थ,सुशासन, शिक्षा, स्वास्थ्य, न्याय, कृषि, छुवाछुत, गौरवका आयोगजनालगायत समसामायिक विषयमा पनि सांसदहरुले चासो व्यक्त गरेका थिए । प्रतिपक्षी एमालेका पाँच कांग्रेस चार, माओवादी र रास्वपाका एक÷एक सांसद प्रधानमन्त्रीलाई प्रश्न सोधे ।

प्रधानमन्त्रीले सांसदहरुले सोधेका अधिकांश प्रश्नको रेडिमेड उत्तर दिए तापनि महत्वपूर्ण प्रश्नको भने कुनै उत्तर दिएनन् । वर्षाैदेखि न्यायको लागि शान्तिपूर्ण अनसन बसेको गंगामाया अधिकारीलाई भेट्न कहिले जानुहुन्छ भन्ने प्रश्नमा उनले कुनै जवाफ दिन सकेनन् । यसरी सदनको तेस्रो पटकको प्रश्नोत्तरमा सांसदको प्रश्नमा र प्रधानमन्त्रीको टालटुले जवाफ कर्मकाण्डीमै सिमित देखियो ।