Breaking

गठबन्धन भत्काउने खेल, गौँडा ढुक्दै एमाले, प्रधानमन्त्री प्रचण्ड सशंकित, विकल्पको खोजीमा कांग्रेस


काठमाडौँ — फेरि एकपटक सत्ता समिकरण फेरबदलको कसरत सुरु भएको छ । सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भईरहेको भन्दै प्रधानमन्त्री प्रचण्ड ससंकित बनेका छन् । गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी छ । मंगलबार घाम झुल्किने वित्तिकै पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भईरहेको आशंका गरे । तर, एकाबिहानै गठबन्धन तोडेर सरकार ढाल्ने धेरै कसरत भईरहेको भनेका प्रधानमन्त्री प्रचण्ड दिउँसो प्रतिनिधिसभामा सांसदहरुसँग प्रश्नोत्तर सक्याएपछि भने सरकार ढाल्ने कोसिस सफल नहुनेमा ढुक्क देखिए ।

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड हिजोआज सरकार गिराउने खेल फेरि सुरु भएका भन्दै त्यसविरुद्ध पूर्वतयारीसहित पौठेजोरी खेलिरहेका छन् । सरकार ढाल्ने कोशिष गर्नेहरु बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको भन्दै उनले कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने दाबी गर्छन् । अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातिय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको उनको भनाई छ ।

तर, यो सरकार ५ वर्ष नै टिक्नेमा ढुक्क रहेका प्रधानमन्त्री प्रचण्डको बोलीमा कांग्रेस महामन्त्री गगन थापाले लगाम लगाउने प्रयास गरेका छन् । आफूसँग बहुमत छ र संसदमा भएका सबै सांसदहरुले थपडी बजाउँछन् भन्ने सोच गलत भएको थापाले प्रधानमन्त्रीलाई चेतावनी दिए । आफूहरुलाई हेपेको कुरा स्वीकार्य नहुने भन्दै उनले भने, ‘संसदमा जे गरेपनि हुन्छ भन्ने ठानिएको छ । प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’ संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे गरेपनि हुन्छ भनेर सांसदहरुलाई हेपेको उनको टिप्पणी छ ।

उसो त प्रचण्ड नेतृत्वको सरकार ढाल्ने एमालेको कसरत पहिल्यैदेखिको हो । अहिले पनि सरकार ढाल्न उचित गौँडा ढुकेर एमाले बसिरहेको छ । कतै कांग्रेसकै नेताहरुमार्फत उदेश्य प्राप्त गर्न सकिन्छ कि भनेर एमालेका नेताहरु कांग्रेसभित्र छिरेर खेल्न खोजिरहेको छ । बेलाबेला गगन थापासहित कांग्रेसका सांसदहरुले दिने अभिव्यक्तिले एमाले हौसिने गरेको छ । उसो त जुनसुकै समयमा आफ्नो सत्ता ढल्न सक्ने बुझेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तारुढ बनाउन खोजिरहेका छन् ।

आफ्नो भागमा परेको २ वटा संसदीय समितिमध्ये १ वटा समितिको जिम्मेवारी राप्रपालाई दिएर प्रधानमन्त्री प्रचण्डले फकाउने प्रयास गरिसकेका छन् । कोशीमा कांग्रेस नेतृत्वको सरकार जोगाउनसमेत प्रधानमन्त्रीको सक्रियता कम छैन । कोशीमा कांग्रेस जोगाउन सफल भए केन्द्रमा पनि आफ्नो सरकार टिक्नेमा ढुक्क भएका प्रधानमन्त्री प्रचण्डलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने यस्तो जवाफ दिन्छन् ।

भ्रष्टाचारका केही फाईल खोल्दा कांग्रेस सभापति शेरबहादुर देउवाको खटन पटन मान्नुपर्ने अवस्थामा आईपुगेका प्रधानमन्त्री प्रचण्ड बारम्बार सरकार ढाल्ने खेल भईरहेको प्रतिक्रिया दिईरहेका छन् । मंगलबार नै कांग्रेस महामन्त्री थापाले सबै सांसदहरुले होमा हो गरेर थपडी मार्छन् भन्ने नसोच्दा हुन्छ भनेर दिएको अभिव्यक्तिले प्रधानमन्त्री प्रचण्डलाई थप पोलेको छ । उनी चल्दै गरेको सत्ता समिकरण फेरबदलको प्रयाससँग लुकामारी गर्दै अबको ५ वर्ष नै आफू नेतृत्वको सरकार टिकाउन चाहन्छन् ।