Breaking

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने


काठमाडौँ – प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ ।

हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आजका लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन् ।

संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरूलाई बर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ ।

समूहमा परेका सांसदहबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पु¥याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्ने छन्, जुन आज संसदमा प्रस्तुत हुन्छ ।