Breaking

काठमाडौँलाई ट्रान्जिट बनाएर आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान


काठमाडौँ – नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हङकङ तथा दिल्ली उडान गर्ने भएको छ ।

काठमाडौँलाई ट्रान्जिट बनाएर यो उडान गर्न लागिएको निगमले जनाएको छ । निगमले आज ९१२ भदौ० देखि नियमित रूपमा उडान भर्ने गरी बुकिङ खुला गरेको छ ।

सुरूमा भैरहवाबाट हप्ताको एक उडान मात्र हुनेछ। हरेक मंगलबार हुने यो उडान बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार बढाउँदै जाने योजना निगमले बनाएको छ ।

उडान तालिकाअनुसार आज बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौँमा अवतरण गर्नेछ । तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्नेछन् ।

मंगलबार ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाउने तयारी छ । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन ।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा पुगेर लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । निगमले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा हङकङ र दिल्ली उडान सुरु गर्न लागिएको जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल मलेसियालगायतका राष्ट्रमा उडान हुने गरेका छन्। मलेसियाको उडान नेपाल एअरलाइन्सले गर्दै आएको छ । गत जेठमा विमानस्थल उद्घाटनकै दिनदेखि कुवेतको जजीरा एअरवेजले पनि यो विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो। तर, त्यसको केही समयपछि यो उडान बन्द छ ।

त्यस्तै, हिमालय एअरलाइन्सले केही समय त्यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि उडान गरेको थियो ।