Breaking

ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्तको आजदेखि बयान लिइँदै


काठमाडौँं– बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्तको आजदेखि बयान लिइँदै छ । काठमाडौं जिल्ला अदालतमा बयान लिन लागिएको हो ।इजलास नम्बर–१३ मा अभियुक्तको बयान लिइँदै छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा बयान लिइने अदालत प्रशासनले जानकारी गराएको छ । बयान लिनका लागि आवश्यक तयारी भइरहेको बताइएको छ । सो प्रकरणमा पक्राउ परेका मध्ये १७ अभियुक्तलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरू थुनुवा पोसाकमा छन् । इजलास नम्बर–१४ को ‘वेटिङ रुम’ राखिएका उनीहरू बयान दिनका लागि तयारी अवस्थामा छन् । बयान लिइसक्न केही दिन लाग्न सक्नेछ ।आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।