Breaking

सरकार धम्की र प्रहारबाट आत्तिँदैनः गृहमन्त्री श्रेष्ठ


काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । आइतबार वीरगञ्जमा माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारले चालिरहेको सुशासनको अभियान असफल बनाउन षडयन्त्र भइरहेको बताएका हुन् ।

सुशासनको अभियानलाई असफल बनाउने षड्यन्त्र भइरहेको छ । भ्रष्टाचार, तस्कर, कालोबजारी, अपराधीहरूले सुशासनको अभियानलाई कसरी असफल बनाउन फेल गराउन सकिन्छ भनेर षड्यन्त्र रचिरहेका छन्,’ उनले भने । मन्त्री श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान नरोक्नेसमेत स्पष्ट पारे । उनले विकास समृद्धिको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने बताए ।

‘प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान रोक्दैन। यसलाई अगाडि बढाएर सफल बनाई छोड्छ । हामी कसैको धम्की र प्रहारबाट आत्तिने छैनौँ,’ उनले भने, ‘नयाँ नेपाल बनाउन सुशासनको अभियानलाई सफल बनाउनुपर्छ। तस्कर, ठग र जालीझेलीलाई कारबाही गर्नुपर्छ । हिजो माओवादीको नेतृत्वमा सरकार बनाउँदा सकारात्मक काम भए । अँध्यारो युगलाई उज्यालोमा लैजाने, लोडसेडिङ अन्त्य गर्ने काम माओवादीले गर्यो । अहिले हामी भ्रष्टाचारविरोधी अभियानहरू चलाइरहेका छौँ ।