Breaking

ओलीलाई गाली नंग्याएकै भरमा बलियो बन्लान् माधव ? सत्तामा हुँदा पनि पार्टी किन सुध्रिएन ?


काठमाडौँ — एमालेबाट अलग भई माधव नेपालको नेतृत्वमा खोलिएको नेकपा एकीकृत समाजवादीको स्थापना भएको शनिबार दुई वर्ष पुग्यो । तर सत्तामा आफूलाई टिकाई राख्न सफल भए पनि एकीकृत समाजवादीको संगठन विस्तार भने चित्तबुझ्दो छैन । पार्टीको नाममा ‘समाजवादी’ जोडिए पनि माधवलाई बोक्ने र ओलीलाई पछार्ने एजेण्डा बोक्दा पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेको छैन । सानो दल भएर पनि सबैभन्दा बढी सत्तामा रमाएको नेकपा एकीकृत समाजवादी स्थापना भएको दुई वर्ष पुग्याये । तर, यो अवधिमा यो पार्टी मुश्किलले झण्डै दुई महिनामात्रै सरकार बाहिर छ ।

आम निर्वाचनपछि राष्ट्रिय दल बन्न नसक्दा पनि एमालेलाई सत्ता राजनीतिबाट विमुख गर्न र आफू केन्द्रदेखि प्रदेशसम्म सत्ता राजनीतिमा जोडिन सफल छ । तर, संगठन विस्तार र आन्तरिक मतभेद व्यवस्थापनमा भने समाजवादी चुक्दै आएको छ । भदौ ५ गते देखि ७ गतेसम्म तीन दिन चलेको छलफलको निष्कर्ष पनिआफ्नालाई च्याप्ने र विरोधीलाई फ्याक्ने जस्तो देखिएको छ ।

नेकपा एकीकृत समाजवादीको छैठौं केन्द्रीय कमिटी बैठकको निष्कर्ष पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बोक्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आगो ओकल्ने मात्रै रहेको पार्टीका नेताहरुले दिने अभिव्यक्तिबाट पुष्टि हुन्छ । अरु अर्धनग्न बन्दा खिस्सी टिउरी गर्ने समाजवादीका नेता, आफ्ना नेता सर्वत्र नग्न हुँदा पनि मुख छोपेर इज्जत बचाउन खोजिरहेका छन् ।

गठबन्धन दलहरुको बीचमा नै हराइरहेको एकीकृत समाजवादी आफ्नो पार्टीको पहिचान र आकार बनाउनेतर्फ अग्रसर भएको देखिँदैन।एकपछि अर्काे गर्दै समाजवादीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षदेखि स्थानीयस्तरका नेताहरु एमाले प्रवेश गरिरहेका छन् ।समाजवादीको तेस्रो वरियताका वरिष्ठ नेता मुकुन्द न्यौपाने,उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरूले पुरानै घर एमाले रोजिसकेका छन् । एमालेमा विद्रोहको समयमा माधव नेपाललाई रोजेर समाजवादी आएकाहरु धमाधम एमालेमा नै फर्किरहेका छन् ।

एमालेमा विद्रोह गरेर नयाँ पार्टी खोल्दा माधवको मेरुदण्ड बनेकी पार्टी सचिव रामकुमारी झाँक्री नै अहिले पार्टी नेतृत्वसँग सन्तुष्ट छैनन् । माधवसँग बोलचाल नै बन्द गरेकी झाँक्रीको सचिव हुँदा पनि १५ महिनासम्म आवाजविहीन भएर बस्नुपरेको दुःखेसो छ । पार्टीभित्र अध्यक्ष नेपाल र सम्मानीत नेता झलनाथ खनालबीच राजनीतिक–वैचारिक र संगठनात्मक मतभेद छताछुल्ल भएको छ । समाजवादी छिया पर्दै जाँदा यसलाई थेग्नै मुश्किल पर्ने दृष्य खुला रुपमा नै देखिरहँदा केही नेताहरु भने पार्टीमा केही हुँदै नभएको तर्क गरिरहेका छन् ।

पार्टीमा सैद्धान्तिक छलफल हुनुको साटो माधव नेपाल व्यक्तिगतरुपमा ओली र एमालेको विरोधमा मात्रै उत्रिएका छन् । पार्टी स्थापनाको दुई वर्ष बितिसक्दा पनि विभाजनको औचित्य पुष्टि गर्न नसकेको एकीकृत समाजवादी गठबन्धनकै बुईमा रमाईरहँदा पार्टी थेग्न नै मुश्किल परेको छ । पार्टीका शीर्ष नेताहरुबीच नै राजनैतिक विचार र पार्टी सञ्चालनमा मतभेत देखिँदा ओलीलाई गाली गरेकै भरमा माधवको पार्टीले कसरी गरि खाला भन्ने प्रश्न खडा भएको छ ।