Breaking

टर्‍यो प्रचण्डको सत्ता संकट, टुहुरो भयो सुशासनको अभियान, ओली–देउवाको मिलन अनिश्चित


काठमाडौँ — सुन प्रकरणको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति जनाएका प्रधानमन्त्री प्रचण्डले आफूमाथि आउन सक्ने सम्भावित खड्को टारेका छन् । प्रधानमन्त्रीको पद सम्हालेदेखि नै धरापमा रहेका प्रचण्डको कुर्सीमा कयौं संकट पैदा भए पनि त्यसलाई मोचन गर्न उनी सक्षम भएका छन् । एक महिनादेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग असन्तुष्ट रहेर संसद् अवरुद्ध गरेको नेकपा एमालेको मागलाई सम्बोधन गर्दै प्रचण्डले सदनलाई गति दिन सफल भएका छन् । सुन प्रकरणको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति जनाएका प्रचण्डले आफूमाथि आउन सक्ने सम्भावित संकटसमेत टारेका छन् ।

विभिन्न काण्डमा कांग्रेस–एमालेकै प्रभावशाली नेतालाई पनि नछोडेका प्रचण्डको कमदप्रति देउवा–ओली नै असन्तुष्ट भईरहेको अवस्थामा प्रचण्ड सरकारको आयुमाथि नै संकट पैदा हुँदै गएको थियो । प्रतिपक्षीसँगै सत्ता पक्षकै सुनील शर्माले पनि सदनबाटै राजीनामा माग गर्दा प्रचण्डको प्रधानमन्त्रीको कुर्सी केही हलचल हुन पुगेको थियो । विभिन्न बाहानामा गठबन्धन तोड्न हत्ते हालेका ओली र रिसाएका देउवाबीच समीकरणको खोजी हुने टिकाटिप्पणीकाबीच प्रचण्ड देउवालाई रिझाउनमात्रै सफल भएनन् कि आफूमाथि आउन सक्ने संकटलाई मोचन गर्न समेत सफल भएका छन् । प्रचण्डले आफूमाथिको ठूलो खड्को टार्दा यता, सत्ता ढाल्न खोजेको एमालेमा भने आक्रामक हुनु सिवाय अरु केही बाँकी देखिएको छैन ।

प्रचण्डले ढल्नै लागेको सरकार जोगाएको यो नै पहिलो पटक भने होइन । प्रधानमन्त्रीको कुर्सीमा बसेदेखि नै उनले पटक पटक संकटको सामना गर्दै आईरहेका छन् । प्रचण्डले नेतृत्व गरेको सरकार गठन भएको दुई महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ एमालेसहितका पाँच दल नै असन्तुष्ट बनेका थिए । रास्वपा, राप्रपा जनमत सबै असन्तुष्ट बन्दा प्रचण्डको कुर्सी त्यतिखेर नै पनि संकटमा पर्नेमा शंका थियो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा ‘बंगलादेश मोडल’ मा नेपाल र भारतको सीमा समस्या समाधान गर्न सकिने बताएको भन्दै प्रतिपक्षीले प्रधानमन्त्रीविरुद्ध ठूलै हंगामा खडा गरे । शिख व्यापारी प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउँन पटक पटक सिंह दिल्ली पुगेको अभिव्यक्ति दिएपछि पनि सत्ता पक्षकै महामन्त्रीले आपत्ती जनाएका थिए । एमालेले यस विषयमा पनि प्रधानमन्त्रीको राजीनामाबारे ठूलै स्वरमा आवाज उठाएको थियो । कुनै ठाउँमा लचकता देखाएर र कुनै ठाउँमा दवावमा राख्ने उनको विशेषताले विभिन्न उतार चढावका बीच पनि आठ महिनासम्म प्रचण्डले आफ्नो कुर्सी बचाईराखेका छन् ।

सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेर गठन भएको वर्तमान सरकार सबैलाई रिझाएरै भए पनि कुर्सी जोगाउने चुनौतीमा छ । गृहमन्त्रीको कार्यबाट असन्तुष्ट देउवाले गठबन्धन बैठकमै झपारे पनि सरकारविरुद्ध जतिसुकै आक्रमण भएपनि सुशासनको अभियान नरोकिने गृहमन्त्रीको भनाई छ ।

उपप्रधान, गृह जस्ता मन्त्रालय सम्हालिसकेका मन्त्रीहरुलाई समेत जेल कोच्न भ्याएको प्रचण्ड सरकारले चौतर्फी घेरावन्दीकै बीच सरकार टिकाईरहेका छन् । पटक पटक संकटमा रहेको सरकार अहिलेसम्म सत्ता यात्रा गर्न सफल बनेको छ । प्रधानमन्त्रीको पद सम्हालेदेखि नै धरापमा रहेको प्रचण्डको कुर्सीमा कयौं संकट पैदा भए पनि त्यसलाई मोचन गर्न उनी सक्षम देखिएका छन् । जहिले जता पनि फर्कने सक्ने प्रचण्डको अस्थिरतावादी प्रवृत्तिले प्रचण्डलाई सरकार जोगाइ राख्न केही हदसम्म भए पनि सहज बनेको छ ।