समाचार

कर्णालीमा दुई दिनदेखि हवाइ सेवा अवरूद्ध


काठमाडौँ – मौसममा खराबीका कारण कर्णालीमा दुई दिनदेखि हवाइ सेवा प्रभावित भएको छ । लगातार वर्षा जारी रहेकाले हवाइ सेवा प्रभावित भएको हो ।

डोल्पाको जुफाल विमानस्थल , हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाइ उडान हुन नसकेको हो । हवाइ उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इन्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिए। ‘दुई दिन भइसक्यो जहाज कुरेको । मौसमयमा सुधार नआउँदा डोल्पा जान सकिएको छैन’, उनले भने, ‘स्थलमा मार्गबाट जान पनि सम्भव छैन ।’

सडक यातायात भरपर्दो नहुँदा हवाइ सेवा लिनुपर्ने, त्यसमा पनि मौसमले समस्या भएर आउँदा हिमाली जिल्लाका सर्वसाधारण यात्रा गर्न मुस्किल हुँदै आएको छ ।

डोल्पामा सडक पुगे पनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न मस्किल हुँदै आएको छ । खोलामा पानीको मात्रा बढेका कारण यात्रामा समस्या हुँदै आएको हो । मुगुमा सडक भए पनि वर्षायामका भत्किएका कारण सहजरूपमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा अझै सुधार भएको छैन । काठमाडौँ उडान समेत मुस्किलले भएको छ ।