काठमाडौँ – धादिङको गजुरीमा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउने आठैजनाको सनाखत भएको छ ।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका ८ का २० वर्षीय सुशिल रम्तेल, गजुरीकै १७ वर्षीय सविन रम्तेल, कास्कीको फुलबारी ११ का २४ वर्षीय सुमन थापा, पर्वतको जलजला गाउँपालिका ६ की ४२ वर्षीया राधिका सापकोटा, पर्वतकै मोदी गाउँपालिका ५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री र म्याग्दीको धौलागिरी गाउँपालिका ५ का ७२ वर्षीय टेकबहादुर छन्त्याल छन् ।
दुर्घटनामा परेको बसमै सवार म्याग्दीको मंगला गाउँपालिका २ का ३६ वर्षीय हरि अरमोजा दुर्घटनापछि बेपत्ता छन् । दुर्घटनामा परेको बसका चालक म्याग्दीको बेनी ६ का ३० वर्षीय दीपक थापा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । घाइते १२ जनाको हाल वीर अस्पतालको ट्रमा सेन्टर, बयोधा, बीएण्डबी, किस्ट लगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
प्रतिक्रिया