Breaking

ओली सक्ने माधवको उदेश्य, फाईदा लुट्दै प्रचण्ड, फुटेरै सकिक्दै कम्युनिष्ट


काठमाडौँ — पाँच दशक लामो राजनीतिक सहकार्य गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अहिले भने पानी बाराबारकै अवस्थामा छन् । ओलीसँगको झगडाकै कारण नयाँ राजनीतिक दल खोलेका माधव नेपाल र एमाले अध्यक्ष ओलीबीच फेरि पुनर्मिलन हुनुपर्ने बहस उठ्दै गर्दा उनीहरुबीच मिलनको कुनै गुन्जायस भने देखिएको छैन ।

केपीशर्मा ओली र माधवकुमार नेपालबीचको सहकार्य र संघर्षको इतिहास लामो छ । बहुदलअघि ओली लामो समय जेलमा र नेपाल भूमिगत राजनीतिमा सक्रिय थिए । एमालेको छैठौं महाधिवेशनमा कार्यनीतिक दस्तावेज पेश गर्ने गरी ओलीलाई नेपालले पार्टीमा तेस्रो बरियता दिलाएका थिए । ओलीलाई आफूभन्दा माथि राखेपछि रिसाएका वामदेव गौतमले महाधिवेशनमा फरक दस्तावेज नै पेश गरेका थिए । जतिबेला मनमोहन अधिकारी अध्यक्ष र नेपाल महासचिव थिए । ओलीले २०५९ को सातौं महाधिवेशनमा नेपालसँग महासचिवमै दाबी गरेपनि अन्तिममा पछि हटेका थिए ।

नेपालले ओलीलाई पटक पटक मन्त्री र उपप्रधानमन्त्री बनाए भने, नेपाल प्रधानमन्त्री बन्दा ओलीले पनि दह्रो साथ दिएका थिए । तर, नवौँ महाधिवेशनमा एमाले अध्यक्षका लागि नेपाल र ओली मैदानमा उत्रिएपछि सम्बन्धमा तिक्तता आयो । तत्कालीन एमालेकालमा मात्रै होइन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दासमेत ओली र नेपालको सम्बन्धमा सुधार आउन सकेन । घोचपेच मात्रै होइन, एकले अर्कालाई कारबाही गर्नेसम्मको स्थिति बन्यो । सर्वोच्च अदालतको आदेशबाट नेकपा एकता भंग भएपछि नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी एकीकृत समाजवादी गठन गरे । त्यसपछि दुई नेताको सम्बन्ध झन चिसियो । दुबै नेताले एकअर्कालाई घोचपेच गर्न अझै छाडेका छैनन् ।

गत राष्ट्रपतिको निर्वाचनताका दुई÷तीन पटक छलफल गर्नुबाहेक ओली र नेपालबीच सम्वाद भएको छैन । सार्वजनिक रुपमै एकले अर्कालाई आरोप लगाउने क्रम जारी नै छ । ओलीले नेपाली कम्युनिष्ट आन्दोलन ध्वास्त पार्न लागिपरेको आरोप लगाउदै आएका छन् । सोही कारण आफुले राष्ट्रपति बन्न प्रस्ताव गर्दासमेत नेपाल तयार नभएको ओलीको जिकिर छ ।

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने गरिन्छ । नदीका दुई किनाराजस्तै देखिने ओली र माओवादी अध्यक्ष प्रचण्डबीच समेत विगतमा मिलन भएको थियो । एकले अर्काको नामसमेत सुन्न नचाहने ओली र प्रचण्ड यति घनिष्ठ भएका थिए कि, आफुहरूलाई एउटै जहाजका दुई पाइलटसम्म भन्न भ्याएका थिए । त्यसैले ओली र नेपालबीच मिलनको सम्भावना कायमै रहेको दाबी गर्नेहरू पनि छन् । तर, ओली र नेपालबीचको तिक्ततापूर्ण सम्बन्धको असर दुबै पार्टीमा तल्लो तहसम्म पुगेको छ ।

ओली र नेपालको स्वभाव र शैलीमा धेरै भिन्नता देखिन्छ । ओली समयसँग चल्नेभन्दा पनि समयलाई नै चलाउन खोज्छन भने माधव समयअनुसार आफूलाई चलाउने प्रयत्न गर्छन् । ओली आफ्ना वैचारिक मान्यता र अडानमा खरो उत्रन्छन र अरुलाई प्रभावित पार्न खोज्छन । हाँसो ठट्टा, उखान टुक्का र व्यंग्यमा ओली माहिर छन् । नेपाल भने मध्यस्थताको भूमिमा अब्बल छन् । राजनीतिक दौडधुप र भेटघाटमा नेपाल सधै सक्रिय हुन्छन । ओली र नेपालको बढ्दो दूरीले तेस्रो पक्षले फाइदा लिइरहेको भन्दै दुबै पार्टीभित्र सम्बन्ध सुधारको खोजी गर्नेहरू पनि छन् । तर, व्यक्तिगत इगोका कारण दुई नेताबीच तत्काल मिलन सम्भव देखिदैन ।