Breaking

संसद अवरोधबारे राष्ट्रपतिको चासो अनावश्यक : एमाले


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ ।

संसदमा देखिएको गतिरोध अन्त्यका लागि राष्ट्रपतिले बोलाएको बैठक एमालेले बहिस्कार गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले बोलाएको बैठक औचित्यहीन रहेकाले आफूहरू नगएको स्पष्ट पारे । ‘हामीलाई राष्ट्रपतिज्यूले सदनको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएको खबर आयो । तर, सम्माननीय प्रधानमन्त्रीज्यूले निरन्तर संवाद गरिरहनुभएकाले राष्ट्रपतिले बोलाएको बैठकको औचित्य के हो ? सदनको अवरोधको विषयमा राष्ट्रपतिले छलफल गर्नुपर्दैन । त्यसैले त्यो बैठकको औचित्य छैन ।’

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकले सदनको अवरोध हटाउने सहमति गरेको थियो । विपक्षी दलले उठाएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिसमेत भइसकेको छ ।

सहमति भइसकेको विषयमा राष्ट्रपतिले राजनीतिक दलहरूलाई बोलाउनुको कुनै तुक नरहेको एमालेको तर्क छ । एमालेले साउन १० गतेदेखि सदन चल्न दिएको थिएन । तर, आज सुरू हुने बैठकको अवरोध हट्ने बताइएको छ ।