समाचार

काठमाडौँ जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, २९ जना घाइते


काठमाडौँ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना भएको छ ।

धनगढीबाट काठमाडौँ जाँदै गरेको रात्रिबस नवलपुरको घ्युखोलामा दुर्घटना हुँदा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरीका अनुसार धनगढीबाट काठमाडौँका आइरहेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।

विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित घ्युखोलामा बिहानको समयमा रात्रिबस दुर्घटना हुँदा २९ यात्रु घाइते भएको जनाएको छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।