काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि २० आई खेलमा आज हङकङसँग खेल्दैछ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा हुने खेल पौने १२ बजे सुरू हुनेछ । नेपालले आइसिसि महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोट अघि चार देश सम्मिलित सिरिज खेल्न लागेको हो ।
सिरिजमा नेपालले मलेसिया, हङकङ र कुवेतसँग खेल्नेछ । नेपालले भदौ ५ गते हङकङ, ६ गते कुवेत र ८ गते मलेसियासँग खेल्ने तालिका छ ।
चार देशबीच शीर्ष २ मा रहनसके नेपालले भदौ ९ गते फाइनल खेल्नेछ । पुछारका अन्य दुई टोलीले सोही दिन तेस्रो र चौथो स्थानका लागि खेल्नेछन् । यो सिरिजपछि नेपाली टोलीले भदौ ११ गते थाइल्याण्डसँग अभ्यास खेल खेल्नेछ । एसिया क्षेत्र छनोट भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुनेछ ।
समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन् । समूह ‘बि’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।
नेपालले पहिलो खेलमा भदौ १४ गते मलेसियासँग खेल्नेछ । १५ गते बहराइन, १७ गते भुटान, १८ गते कतार र २० गते यूएईसँग खेल्ने तालिका छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल खेल भदौ २२ गते हुनेछ। फाइनल खेल २३ गते हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ ।
प्रतिक्रिया