Breaking

नारायणकाजीलाई ओली–देउवाकै धम्की, महरा र आरजू जोगाउने थ्रेट,सूत्र खोज्दै प्रचण्ड


काठमाडौँ — गृहमन्त्री नारायणकाजी श्रेष्ठ केही दिनदेखि प्रतिपक्षी र सत्तारुढ दुबैको पेलानमा पर्न थालेका छन् । यसअघि प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निशानामा पर्दै आएका गृहमन्त्री श्रेष्ठलाई अहिले भने कांग्रेस सभापति देउवालेसमेत पेल्न थालेका छन् । हौसिएर एकपछि अर्को फाईल खोलेर चर्चा कमाईरहेका उनलाई पार्टीभित्रैबाट पनि दबाब आउन थालेका छन् । एकपछि अर्काे गर्दै भ्रष्टाचारको फाईल खोलेर सरकार भएको अनुभूति गराएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ चौतर्फी दबावमा छन् ।

आफ्नै पार्टीका नेतादेखि गठबन्धन नेतृत्व र प्रधानमन्त्री नै श्रेष्ठको स्पीडमा ब्रेक लगाउन चाहन्छन् । प्रतिपक्षीसँगै सत्तारुढबाटै दबाव आउँदा चर्चै चर्चा कमाएका गृहमन्त्री श्रेष्ठ चुप बस्नु पर्ने अवस्थामा आईपुगेका छन् । आफैले उठाएको सुशासनको प्रश्नको जवाफ दिन अक्मकाउन थालेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्मलाई कारागार चलना गर्न सफल उनी अहिले भने बेमौसमी रुपमा एआईजी र एसएसपीको सरुवा गरेको आरोप खेप्नुपर्ने अवस्थामा आईपुगेका छन् ।

आरजू देउवाको पनि नाम मुछिएको शरणार्थी प्रकरणमा मुख्य दुई नाईके सानु भण्डारी र केशव दुलालमाथि फेरि दोस्रो पटक अनुसन्धान गर्ने भएपछि सरकारमा सहभागी सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवाको पसिना छुटेको छ । पत्नी आरजू फेरि पनि यसै प्रकरणमा तानिने डरमा देउवाले असन्तुष्ट हुँदै प्रहरीको सरुवा गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई दबाब दिईरहेको खुलेके छ ।

गृहमन्त्री श्रेष्ठको हरेक कदम देउवासँगकै सरसल्लाहमा भएको उनीहरुको पछिल्लो भेटले पनि पुष्टि गर्छ । कांग्रेस सांसद सुनील शर्माले पटक पटक सदन देखि सडकसम्म आतंकारीको बिल्ला देखउदा समेत मौन बस्नु परेको छ । बन्दुक नबोकेकै कारण आयातीत माओवादीको ट्यागबाट हैरानी खेपेका उनीमाथि माओवादी नेता नै फसाउन लागेको आरोप पार्टी नेता कार्यकर्ताले लगाईरहेका छन् ।

अर्काेतर्फ आफ्नै पार्टीको गृहमन्त्री हुँदा पनि बचाउ नगरि उल्टै लपेटिएर बदनाम गराउन खोजेको आरोपको सामना उनी गरिरहेका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पनि सर्वाेच्च अदालतको फैसलापछि पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपालको बयानको तयारी गरेका गृहमन्त्री गठबन्धनको निर्देशनपछि पछि हट्नु परेको थियो । त्यस्तै कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारसहित अरु तीन मन्त्रीको पक्राउ पूर्जी जारी गरेकोमा पनि गठबन्धन असन्तुष्ट छ । एकातिर गठबन्धनका ठूला नेता पूर्वप्रधानमन्त्री जोगाउने अर्काे तर्फ सार्वजनिक मञ्चमा नै गठबन्धनको नेता दोषिलाई उन्मुक्ति दिन पाईदैन भने नारायणकाजी दुवै तर्फबाट दवावमा छन् ।

यता सय किलो सुन पगाल्दा ६० किलो भएको सुन प्रकरणमा नारायणकाजी नै दोषी भएको भन्दै एमालेले उनीमाथि एकोहोरो प्रहार गरिरहेको छ । उनकै कार्यशैलीलाई देखाउँदै एमालेले सदन चल्न दिएको छैन भने सरकारको विकल्पको रटान लगाईरहेको छ । ओलीको मात्रै पेलनामा परेका नारायणकाजी पछिल्लो समय भने गठबन्धकै नेताको सिधा दबावमा पर्ने गरेका छन् । पहिले प्रतिपक्षीको दवावलाई पेल्दै अघि बढे पनि अहिले देउवाले नै पेल्न थालेपछि भने उल्टोबाट हिड्न पर्ने अवस्था आएको छ ।

कसैको दवाव वा प्रभावमा पर्दिन भनेर फाईल खोलेका नारायणकाजीलाई तीन प्रकरणले नै थला पारेको छ । पटक पटक सत्ता छोड्न तयार हुने तर सुशासनको अभियान तुहिन नदिने हुंकार गर्ने सरकार पछिल्लो समय सत्ता जोगाउनकै निम्ति प्रकरणको अनुसन्धान नै ओझेलमा परेको छ । राजनीतिक दाउपेजकै कारण साढे चार महिनामा नै प्रहरीको सरुवा हुन्छ भने सर्वाेच्चको निर्देशन पनि पालना हुन छोडेको छ । सुशासनका लागि हौसिएर कदम चालेका नारायणकाजीलाई अहिले त्यही कदम गला पासो बन्ने छनक देखिन थालेको छ ।