Breaking

ओलीको अगाडि प्रचण्डको केही चलेन, रिसाए शेखर, सुनको जिम्मा सीआईबीकै, सभामुखको केही चलेन


काठमाडौँ — संसदमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखको आईतबारको छुट्टाछुट्टै प्रयास पनि असफल भएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतक र सचेतकहरुबीचको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रधानमन्त्रीले बोलाएको बैठकले भने निकाश दिने आशा थियो । तर प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए भने सहभागी नेताहरुबीच पनि कुनै सहमति जुट्न सकेन ।

यथास्थितिमा संसद अवरोध हटाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझै तयार छैनन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति हुनैपर्ने उनको एक सुत्रिय ढिपी छ । अध्यक्ष ओलीको चित्त बुझाउनकै लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले पटक–पटक छलफल गरिरहेका छन् । तर एमाले भने गल्दै नगल्ने मनस्थितिमा देखिन्छ । आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेको प्रयास पनि अर्थहीन बन्न पुग्यो ।

आईतबारको संसद अवरोध खुलाउनेबारे सबैभन्दा पहिले सभामुख देवराज घिमिरेले अग्रसरता लिए । उनले बोलाएको प्रमुख सचेतक र सचेतकहरुको बैठक निष्कर्षविहीन भयो । दलका प्रमुख सचेतक र सचेतकहरुले आ–आफ्नै अडान कायमै राख्दा सभामुख घिमिरेको आईतबारको प्रयास असफल हुन पुगेको हो ।

सभामुखको सक्रियतामा बसेको बैठक असफल भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बस्ने सर्वदलीय बैठकले भने केही न केही निचोड निकाल्ने विश्वासमा नेताहरु थिए । अघिल्लो दिन नै प्रधानमन्त्री प्रचण्डले आईतबार जसरी पनि एकखालको सहमति जुट्ने र संसदको अवरोध खुल्ने बताएका थिए ।

तर उनले भनेअनुसार नेताहरु अडानबाट डगमगाएनन् । शीर्ष नेताहरुको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली नै उपस्थित भएनन् । संसद खुलाउनेबारे दलहरुको गाम्भिर्यता नदेखिएपछि आईतबारको बैठक भदौ ५ गते मंगलबारसम्मका लागि सुचना टाँस गरेर स्थगित गरिएको छ ।

विमति भएका विषयमा आफ्नो कुरा राख्ने थलो नै सदन भएकोले संसद अवरोध गर्न नहुने पक्षमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाछ । संसदलाई नै बन्धक बनाएर कतै पुग्न नसकिने अभिव्यक्ति दिँदै आएका रास्वपा सभापति रवि लामिछाने सबै दलका नेताहरु जिम्मेवार हुनुपर्ने प्रतिक्रिया दिन्छन् । उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने या सरकारी संयन्त्रले गरिरहेको अनुसन्धान प्रक्रियालाई नै विश्वास गर्ने भन्नेबारे धारणा राख्ने थलो नै संसद भएकोले यसरी बन्धक बनाईराख्न नमिल्ने उनको तर्क छ ।

संसदको गतिरोध अन्त्य गर्नेबारे संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि त्यति धेरै गम्भीर देखिएका छैनन् । एमाले र सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रबीचको लडाई हेरेर उनी रमिते मात्रै बनिरहेका छन् । आईतबारको सर्वदलीय बैठकपछि पनि उनले कुनै प्रतिक्रिया जनाएनन् ।

संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको सभामुख देवराज घिमिरे बताउँछन् । संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको भन्दै उनले दलहरुबचि समझदारीको वातावरण बन्नसके संसद अवरोध हटिहाल्ने दाबी गर्छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक नवौँ पटक प्रभावित हुन पुगेको हो । एमालेले राष्ट्रियसभा बैठक पनि अवरोध गर्दै आएको छ । साउन १० गतेदेखि बैठक अवरोध गर्दै आएको एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनै पर्ने भनिरहेको छ ।

तर, सत्तारुढ दलहरुले भने सरकारी संयन्त्रले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने भन्दै आएका छन् । यसबीचमा राष्ट्रपछि रामचन्द्र पौडेलले समेत संसदको अवरोध हटाउनेबारे चासो राखिरहेका छन् । अवरोध हटाउन राष्ट्रपति पौडेलले गरेको आग्रहलाईसमेत एमाले अध्यक्ष ओलीले लत्याएका छन् । दलहरुको रटान कायमै रहे मंगलबारका लागि तय भएको संसद बैठक पनि अवरोध हुने निश्चित छ ।