Breaking

भ्रष्टाचारमा मुछिएकाहरूको भारी पार्टीले बोकिन्नः गगन थापा


काठमाडौँ — संसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् । ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए । उनले भने, अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन ।

नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने बताए । भ्रष्टाचारमा जोडिएका जो–कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने उनको भनाइ छ । महामन्त्री थापाले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनुपर्ने औँल्याए । अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णयसमेत पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए ।