Breaking

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई उन्मुक्ति दिने प्रयास


काठमाडौँ– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ‘सामान्य सोधपुछ’ समेत नगरी उन्मुक्ति दिने प्रयास भएको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्बाट भएका निर्णयमा संलग्न भएकामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिई अनुसन्धान टुंग्याउन लागिएको बताइएको छ ।

नेपाल र भट्टराईलाई अनुसन्धानको दायराबाहिर राखेर सीआईबीले प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ । नेपाल र भट्टराई दुबै सत्तारुढ दलका नेता भएकाले उन्मुक्ति दिने प्रयास भएकोभन्दै आलोचना भइरहेको छ । नेपाल र भट्टराई दुबैले सार्वजनिक रुपमै अनुसन्धानमा सहयोग गर्ने बताउँदै आउनुभएको छ । गत साउन २१ गते सर्वोच्च अदालतले सरकारी जग्गा व्यक्तिका नाममा लैजान मन्त्रिपरिषद्बाट भएका निर्णयका ‘निर्णयाधिकारी’ लाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो ।