देश

सांसद चन्द्र भण्डारी डिस्चार्ज


काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज शुक्रवार उपचारपछि कीर्तिपुरमा रहेको बर्न सेन्टरबाट डिस्चार्जु भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि भण्डारीलाई डिस्चार्ज गरिएको जानकारी दिएका छन् ।

शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ बिस्तारै बिस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ । डा. नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उनलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताए । उनका अनुसार नेता भण्डारीको मङ्गलवार फेरि घाउको ड्रेसिङ गरिनेछ ।

झन्डै छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परि घाइते भएका उनको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो । जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो । भण्डारीको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिमोथी स्प्रौलसहित प्रा. डा. बिडी झा, प्रा. डा. शङ्करमान राई, डा. किरण नकर्मी, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. विशाल कार्की डा. प्रविन गिरी, डा. सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा. प्रज्वल श्रेष्ठ गरी ११ जनाको चिकित्सकको टोली उपचारमा संलग्न रहेको थियो ।