Breaking

प्रधानमन्त्रीलाई भेटेर सभामुखले भने – सदन नचल्नु राम्रो भएन


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिनिधिसभाको अवरोध हटाउन प्रचण्ड र घिमिरेबीच भेटवार्ता भएको हो। भेटमा सभामुख घिमिरेले सदन नचलेर जनताले समेत राम्रो नमालेकाले अवरोध हटाउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

‘सदन नचल्नु राम्रो भएन। माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइँन भन्नुहुन्छ। दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरता पूर्वक छलफल गरिदिनुहोस्,’ प्रधानमन्त्रीसँग सभामुखले भने ।

यस्तै उनले संसदीय समितिको नेतृत्व चयन नहुँदा कानुन निर्माण हुन नसकेको बताएका थिए। उनले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ।

‘समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानुन निर्माण भएनन् भन्ने गुनासो छ । सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन। शीर्ष नेताहरू नै घन्टौं बस्दा पनि सहमति भएन।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले सदनको अवरोध हटाउन प्रतिपक्षी दलका नेतासँग छलफल गर्ने बताएका थिए।

‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ उनले भने।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले साउन १० गतेदेखि सदन चल्न दिएको छैन । तस्करीको सुन बरामद प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।