Breaking

देउवाको काँध चढेर घन ठोक्दै प्रचण्ड, ओली सक्ने, माओवादी हाँक्ने, चीनको प्रभाव कस्तो ?


काठमाडौँ — तेस्रो कार्यकाललाई उपलब्धीपूर्ण बनाउने उद्घोष बोकेर अघि बढेका प्रधानमन्त्री पुष्ष्कमल दाहाल प्रचण्ड सुशासन अभियानबाटै आफ्नो पुरानो बिरासत फर्काउन चाहन्छन् । आम निर्वाचनमा आफ्नो हैसियत प्रष्ट पारेका उनले अहिले भने एकपछि अर्को फाईल खोल्दै देउवा गलाउने र ओली तह लगाउने रणनीतिमा काम गरिरहेका छन् । सरकार संचालनमा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्ण समर्थन पाईराख्दा आम नागरिकलेसमेत सुशासन अभियानमा खुलेरै समर्थन जनाएका छन् भने प्रधानमन्त्री प्रचण्ड थप शक्ति संचय गर्न सफल भईरहेका छन् ।

२०६४ सालमा देशकै पहिलो पार्टीको हैसियतमा पहिलो स्वादमै सत्ताको बागडोर सम्हालेको नेकपा (माओवादी केन्द्र) अहिले भने संसदको तेस्रो ठूलो राजनीतिक शक्ति हो । साढे १ दशकको अन्तरालमा १२० सिटबाट ३२ सिटमा खुम्चिएको पार्टीलाई फेरि पहिलो नम्बरमा ल्याउन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेल मालिस गरिरहेका छन् । सुशासन अभियान भन्दै एकपछि अर्को काण्डका फाईलहरु उजागर गर्दै अघि बढिरहेका उनलाई आम नागरिकले खुलेरै समर्थन गरिरहँदा आफ्नो फुर्तीफार्ती देखाउन थालेका छन् ।

प्रचण्डको जति नै खेदो खने पनि वास्तवमा उनलाई शक्तिशाली बनाउन सबैभन्दा ठूलो भुमिका भने एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । जुन फाईल खोल्दा पनि सरकारको चर्को आलोचको रुपमा एमाले बन्दा प्रधानमन्त्री प्रचण्ड थप शक्तिशाली बन्दै गएका हुन् । यस्तै कांग्रेसभित्रको एउटा तप्काले प्रचण्ड नेतृत्वको सरकारको विरोध गरिरहँदा सभापति शेरबहादुर देउवाको पूर्ण समर्थन छ । देउवाको त्यहि समर्थनका कारण पनि एमाले अध्यक्ष ओलीको जसरी हुन्छ सेखी झार्ने रणनीतिमा प्रचण्ड छन् । यहि रणनीति बुझेका एमालेका नेताहरुले कांग्रेस भड्काउने रणनीति नै अख्तियार गर्दै आएको छ ।

पटक–पटक कांग्रेस भड्काउँदै सरकारविरुद्ध एमालेका नेताहरु खनिएपनि प्रधानमन्त्री प्रचण्ड भने नडगमगाई आफ्नो कदम अघि बढाईरहेका छन् । गठबन्धनमा कुनै समस्या नभएकोले प्रतिक्रियावादीहरूले चलाएको बाहिरी हल्लाको पछि नलाग्न प्रधानमन्त्री प्रचण्डको आगह छ । भ्रष्टाचारविरुद्धको लडाईंका कारण नै माओवादी पार्टीप्रतिको जनविश्वास बढेको प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु नै विभिन्न प्रकरणमा जोडिँदा प्रचण्डलाई भने थप शक्तिशाली बन्ने अवसर मिलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवा पत्नी आरजु देउवा, पार्टीभित्रका प्रभावशाली नेता बालकृष्ण खाँण, एमालेबाट निलिम्बत सचिव टोपबहादुर रायमाझी जस्ता नेताहरु नै ठूल्ठूला काण्डमा नाम जोडिएका पात्रहरु हुन् । यस्तै ललिता निवास प्रकरणमा बाबुराम भट्टराई, माधव नेपाल र गौर हत्याकाण्डमा उपेन्द्र यादवको घाउ बल्झिएपछि सबैलाई साइजमा ल्याउन प्रचण्डलाई सहज भईरहेको छ ।

नेपाली राजनीतिमा प्रत्यक्ष संलग्न हुने दुई ठूला छिमेकीसँगको सम्बन्धकै कारण पनि प्रचण्डलाई फाईदा पुगेको छ । दुई छिमेकी भारत र चीनलाई सन्तुलमा राख्न सक्नुलाई पनि प्रचण्डले आफूलाई थप शक्तिशाली बन्दै जानुको अश्त्रको रुपमा लिन थालिएको छ ।

वर्षमान पुन, देव गुरुङ, अग्नि सापकोटा जस्ता नेताहरु उत्तरतिरको निकटस्थ बनेका छन् भने जनार्दन शर्मा, पम्फा भुसाल जस्तालाई दक्षिणतिरको खास बनाउन खोजिँदै छ । भारतबाट नै जनयुद्ध लडेका प्रचण्डमाथि दक्षिणको सदासयता पाउनु अर्काे कडी बनेको छ । त्यस्तै आफ्नो तेस्रो कार्यकालमा पनि केही गरिएन भने आफू र पार्टी दुवै नरहने निष्कर्षमा पुग्नु पनि प्रचण्ड शक्तिशाली बन्दै जानुको अर्को कारक हो ।

नेपालमा जतिपनि भएका कम्युनिष्टहरु टुटफुटमा रमाउने गरेको आरोप लाग्दै आएको छ । यस्तोमा प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग एकताको अभ्यास पनि गर्यो । तर, अनेक घेराबन्दीका कारण दुई ठूला कम्युनिष्ट पार्टीहरुको मिलन लामो समय टिक्न सकेन । अहिले भने माओवादी आन्दोलनलाई नै शसक्त बनाउनुपर्ने निष्कर्षसहित आफ्नो कार्यकाल स्मरणयोग्य बनाउन चाहन्छन् ।

आ–आफ्नै समस्याले थिचिएका उपेन्द्र, माधव, बाबुराम जस्तालाई साइजमा राख्दै आफू थप शक्तिशाली बन्ने धेय प्रधानमन्त्री प्रचण्डको छ । जबसम्म देउवाको साथ पाउँदै उनकैको चित्त खुस बनाउन सकिन्छ, तबसम्म एमाले र अध्यक्ष केपी शर्मा ओलीले जति नै भाँडभैलो मच्चाउने प्रयास गरेपछि प्रधानमन्त्री प्रचण्ड थप आक्रामक बन्दा झनै शक्तिशाली बन्नेमा दुई मत छैन ।