Breaking

कांग्रेसमा प्रचण्डको डर, शितल निवास सक्रिय, ओली–प्रचण्डबीचको फाटो किन चाहन्छन् देउवा ?


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको जुधाईले साउन १० यता संसद बन्धक बन्दै आएको छ । सार्वभौम संसद लामो समयसम्म अवरोध भएकोमा सुचारुका लागि राष्ट्रपति रामचन्द्र पौडेललेसमेत चासो देखाएका छन् । तर संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले भने आफ्नो भूमिकालाई स्पष्ट पार्न सकिरहेको छैनन् । फलतः कांग्रेसका नेतैपिच्छे फरक–फरक धारणा सार्वज्निक भईरहेका छन् ।

साउन ३ गते बरामद भएको मोटरसाईकलको ब्रेक सु मा लुकाएर तस्करी गरिएको सुन पगालेर एकिन तौल लिने कामसमेत भईसकेको छ । तर यहि प्रकरणले फाटेको शीर्ष नेतृत्वको मन भने अझै बुझ्न सकेको छैन । यो प्रकरणलाई प्रतिपक्ष दल नेकपा एमाले र सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले प्रतिष्ठाको लडाईं बनाईरहँदा ३ हप्तादेखि सदन बन्धक बनिरहेको छ । एमाले र माओवादी केन्द्रको झगडामा नेपाली कांग्रेसका नेताहरुको धारणामा पनि एकरुपता छैन ।

यस्तोमा राष्ट्रपति रामचन्द्र पौडेललेसमेत छिटो सदन सुचारु गराउनेबारे चासो व्यक्त गर्दा नेपाली कांग्रेस भने आफ्नो भूमिका प्रष्ट पार्दै समन्वयकारी भुमिका निभाउन सकिरहेको छैन । सदन नै बन्धक बनेको अवस्थामा मुख्य भुमिकामा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मौनतालाई अर्थपूर्ण रुपमा हेरिन थालिएको छ ।

सुन प्रकरणमा मात्रै होइन, सरकारले खोलेका भ्रष्टाचारका अरु फाईलहरुका सम्बन्धमा पनि कांग्रेसको औपचारिक तर्क सार्वजनिक हुन सकेन । तेस्रो शक्ति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा काँध थाप्ने र प्रचण्डकै अभियानमा होमा हो गरेर अघि बढ्नुको अर्को विकल्प कांग्रेसले खोज्न सकिरहेको छैन । यस्तोमा प्रचण्ड नेतृत्वको सरकार ढाल्न पटक–पटक बालकोटबाट प्रधानमन्त्रीको अफर आउँदासमेत कांग्रेस सभापति शेरबहादुर देउवा आँखा चिम्लिएरै प्रचण्डको सहयात्रालाई दिगो बनाउनतिर उद्धत देखिएका छन् ।

चुनावपछि प्रचण्डलाई लत्याउँदा प्रतिपक्ष कित्तामा पुगेको कांग्रेस नेतृत्व पुनः प्रचण्डलाई चिढ्याएर पुरानै हविगतमा पुग्न चाँहदैनन् । प्रचण्डपछि सत्ताको पखाईमा रहेका कांग्रेस सभापति देउवा आफ्नो सहज सत्ता यात्राका लागि पनि प्रचण्ड रिझाउन बाध्य छन । सत्ता स्वार्थको लोभमा कांग्रेस सदनको जिम्मेवार दल न त प्रतिपक्ष फकाउन चाहान्छ न त सत्तापक्षलाई मनाउन । कांग्रेस केवल सदनको रमिता हेरेरै समय व्यतित गरिरहेको छ । सरकारको नेतृत्वकर्ता र प्रतिपक्षबीचको समन्वयकारी भूमिका निभाउन नसकेको कांग्रेस नेताहरु स्वयम् नै स्वीकार्छन् ।

संसदभित्र प्रतिपक्षीहरुबाटै साथ नपाएको एमाले आफ्नो चट्टानी अडान भने नछाड्ने सुरसारमा छ । प्रतिपक्ष र सरकारको नेतृत्वको गरिरहेको माओवादी केन्द्रको राजनीतिक स्वार्थमा सदन निरिह बनिरहेको छ । यस्तोमा सदन खुलाउने प्रयत्न सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेस सभापति देउवाले केही न केही गर्नुपर्ने हो । तर, उनी प्रधानमन्त्री प्रचण्डकै सहयात्री बन्दै होमा हो मिलाउँदै आफ्नो नीरिहता प्रस्तुत गरिरहेका छन् ।