Breaking

माओवादी केन्द्रले मिहिनेत गर्न सके २०६४ को जस्तै परिणाम ल्याउन सक्छः प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रले मिहिनेत गर्न सकेमा २०६४ को जस्तै परिणाम ल्याउन सक्ने बताएका छन् । सरकारमा गएपछि जनतासँग माओवादीको सम्बन्ध चिसिँदै गएको बताउँदै उनले तर अबको ६ महिना राम्रो मिहिनेत गर्न सके २०८४ को चुनावमा २०६४ को जस्तै १२० सिट आसपासको नतिजा ल्याउन सक्ने बताएका हुन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकास्थित डाडाँकटेरीमा बिहीबार आयोजित २०औँ दोरम्बा स्मृति दिवसलाई सम्बोधनका क्रममा प्रचण्डको यस्तो दाबी आएको हो ।

उनले २०५२ देखि २०६३ सालसम्म माओवादीले रक्तपातपूर्ण क्रान्ति गरेको बताउँदै अब समाजवादका निम्ति शान्तिपूर्ण अभियानमा होमिएको पनि बताए । दाहालले जनतासँग बिग्रिएको सम्बन्ध अब सुधार्नुपर्ने बताए। ‘हामी अब जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध जुट्दै समाजवादी क्रान्ति सफल बनाउनु पर्छ’, उनले भने, ‘आगामी ३ महिनामा हामी नयाँ वातावरण बनाउँछौँ। त्यसपछिको ३ महिनामा माओवादी पार्टी जीवन्त भएर फर्किन्छ। यति गर्न सकेमा २०६४ को जस्तै नतिजा हामी ल्याउन सक्छौँ । उनले सम्बोधनका क्रममा मुलुकको भ्रष्टाचार, विसंगति र अनियमितता हटाउने अभियानमा सरकार रहेको पनि बताए ।