Breaking

सभामुखविरुद्ध महाअभियोगको तयारी, रवि र राजेन्द्रले देलान् साथ ? सभामुख किन एमाले मुख ?


काठमाडौँ — संसदमा तटस्थ र निष्पक्ष कार्य सम्पादन गर्नु सभामुखको अनिवार्य शर्त हो । तर, सभामुखमाथि विगतदेखि नै निष्पक्षको प्रश्न उठ्ने गरेको छ । वर्तमान सभामुख देवराज घिमिरे पनि विवादको भुमरीमा फसेका छन् । संसदीय व्यवस्थामा सदनमा सत्तापक्ष र प्रतिपक्षको जुहारी चल्नु सामान्य हो । विपक्षी सांसदले सरकारलाई सदनमा जनताको आवाज उठाएर ¥याख¥याख्ती पार्छन । सरकारलाई निरंकुश हुनबाट रोक्छन ।

सभामुखले तटस्थ रहेर आफ्नो भूमिका निर्वाह गर्छन । तर, नेपालको सन्दर्भमा अपवाद छाड्ने हो भने सभामुखको भूमिकामाथि नै प्रश्न उठ्ने गरेको छ । सभामुख देवराज घिमिरेमाथि पनि अहिले प्रश्न उठेको छ । वैकल्पिक शक्तिको रुपमा उदाएको प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले त सभामुख दल विशेषको प्रतिनिधिको रुपमा प्रस्तुत भएको गम्भीर आरोप लगाएको छ ।

सभामुख घिमिरे एमालेबाट निर्वाचित सांसद हुन् । सभामुखमा निर्वाचित भएपछि उनले दलको सदस्यता त्यागेका छन् । सभामुख निष्पक्ष हुने भएकाले नै घिमिरेले दलको सदस्यता त्यागेका हुन् । यसअघिका सभामुखले पनि दलको सदस्यता त्याग्ने गरेका थिए । निर्वमान सभामुख अग्नि सापकोटा, ओनसरी घर्ती, सुवासचन्द्र नेम्वाङ लगायत पनि कार्यकाल सकिएपछि मात्रै पार्टी काममा फर्किएका थिए । उनीहरूमाथि पनि दलीय निर्देशनमा चलेको आरोप लागेको थियो । सत्तारुढ दलहरूले सभामुख पार्टी विशेषका रणनीतिअनुरुप चलेको गम्भीर आरोप लगाएका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादीले त सभामुखलाई महाअभियोग लगाउनेसम्मको चेतावनी दिएको छ ।

सत्तारुढ दल र अन्य प्रतिपक्ष दलको आरोपप्रति प्रमुख प्रतिपक्ष दल एमाले भने सहमत छैन । सभामुखको भूमिका तटस्थ र निष्पक्ष रहेको दाबी एमालेको छ । संसदका सबै दलहरूसँग नियमित छलफल गरेरै सभामुख अघि बढेको एमालेको दाबी छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा सभामुखमाथि आरोप लगाएर सत्तारुढ दलहरूले विषयान्तर गर्न खोजेको एमालेको जिकिर छ । महाअभियोग धम्काउने र तर्साउने सत्तारुढ गठनबन्धनले पुरानै प्रवृत्ति रहेको एमालेको दाबी छ ।

राज्यका अंगहरूबीच शक्ति सन्तुलनमा सभामुखको महत्वपूर्ण भूमिका हुन्छ । सभामुखकै कारण कतिपय विषय तलमाथि परेको विगत ताजै छ । त्यही कारण शीर्ष नेताहरू आफु अनुकुलको सांसदलाई सभामुख बनाउन खोज्छन । पृष्ठभूमि जे सुकै भए पनि सभामुख भएपछि पार्टीभन्दा माथि उठेर तटस्थ र स्वतन्त्र भूमिका निर्वाह गर्दा व्यक्तिगतका साथै देश र जनताको हितमा हुनेछ । विगतबाट पाठ सिक्दै सभामुखले उदाहरणीय भूमिका निर्वाह गर्न सक्नुपर्छ ।