Breaking

सुन प्रकरणले गिजोलिँदै राजनीति, प्रचण्डको दोहोर रणनीति, बाबुराम माधवलाई साइजमा लिँदै, तनावमा ओली


काठमाडौँ — ठूला ठूला भ्रष्टाचारको काण्डले पनि चिरा पार्न नसकेको नेपाली राजनीतिक दललाई पछिल्लो सुन प्रकरणले भने दुई ध्रुवमा बााढिदिएको छ । राजनीतिको अर्काे नाम नै बार्गेनिङ हुने र त्यही बार्गेनिङमै कुरा नमिल्दा नेपाली राजनीति नराम्रोसँग गिजोलिँदै आएको छ ।

नेपाली राजनीतिमा तहल्का मच्चाईरहेको क्विन्टल सुन प्रकरणको केन्द्रीय अनुशन्धान व्यूरोले नियमित प्रक्रिया अनुसार नै आफ्नो काम अघि बढाईरहेको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालेर जोख्ने काम सकिएको छ । यहि प्रकरणमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीचको फरक मतका कारण राष्ट्रिय राजनीति बिथोलिँदै आएको छ ।

नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने मागलाई नै आफ्नो अन्तिम विकल्पको रुपमा पुष्टि गर्न खोज्दै छ । तर, देउवा र प्रचण्डको कुरो मिलेसँगै हौसिएको गठबन्धनले पनि पछि नहट्ने सन्देश दिइसकेको छ । कांग्रेसको संस्थापनइतर पक्ष समिति गठनमा खुल्दा आधिकारिक निर्णय गर्ने देउवा भने प्रचण्डको साथमा छन् ।

छानविन समितिको आवश्यक नभएको भन्दै गठबन्धन बैठकले निर्णय गर्दा आफ्नो मागमा अडिक रहेको एमालेले ठूलै झड्काको महसुस गरेको छ । एमालेले छानविन समितिलाई पेचिलो बनाउँदै गर्दा जति रटान गरे पनि अन्तिममा चिसै पानीले नुहाउनु पर्ने भन्दै गठबन्धन निस्चिन्त बनेको छ ।

ठूला दलहरु प्रतिष्ठाको लडाईमा लाग्दा साना दललाई भने आफ्नै समस्याले चिन्तित बनाएको छ । बाबुराम भट्टराई र माधवकुमार नेपाललाई ललिता निवास प्रकरणले पिरोलेको छ भने उपेन्द्र यादवलाई गौर हत्या काण्ड बल्झिँदा टाउको दुखाई बनेको छ ।

जनता समाजवादीले गठबन्धनसँगको सम्बन्धलाई पूर्णविराम दिँदै सत्तासमीकरण फेरबदलकै धम्की दिन थालेपछि फाईल सामसुम पार्ने निष्कर्षमा गठबन्धन छ । यता, विकल्प भनिएका रास्वपा र राप्रपा भने राष्ट्रिय राजनीतिमा अपनत्व खोजिरहेका छन् । सदनमा ३५ सिटे हैसियत बनाइएका यी दुई पार्टी ठूला दलको बाईपासमा परेका छन् । आफूलाई निरीह सावित गरेका उनीहरु लड्दा लड्दै थाकेको महसुस गरिरहेका छन् ।

राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल गर्ने ठाउँमा प्रचण्ड खुद छन् । त्यसैले माधव, बाबुरामलाई साइजमा ल्याएर अघि बढेका उनले पीडितसँग सम्झौता गर्दै उपेन्द्रलाई तरवारको धारमा राखेर गौर हत्या काण्डमा दोहोरो रणनीति अपनाएका छन् । तर, राजनीति अझै पनि दुई धारमा चिरिँदा दोस्रो ठूलो शक्ति एमालेलाई चिढाएरै सरकार अघि बढ्न सक्दैन । जसको गाँठो फुकाउन भने ओली फकाउने बाध्यतामा उनी छन् ।

खाँण र टोपबहादुर पक्राउ पर्दा पनि चिरा पर्ने अवस्था नआएको तर, सुन काण्डले भने राजनीतिलाई दुई धारमा विभाजित गरिदिएको छ । राजनीतिको अर्काे नाम नै बार्गेनिङ हुँदा देश बार्गेनिङमा चलिरहेको छ । हात्तीको देखाउने र खाने दाँत फरक हुन्छ भने झै राजनीतिज्ञको प्रवृत्ति पनि त्यस्तै रहेको विश्लेषकको बुझाई छ ।

कमिशनमा नै रम्ने नेताहरुले देशलाई मिलेरै आपराधिक भूमि बनाएको उनीहरुको तर्क छ । नीति र सिद्धान्त भन्दा पनि सत्ता राजनीतिमा दलहरु केन्द्रीत हुँदा राजनीति त बन्धक बनेको नै छ । यता सदन पनि बन्धक बन्दा प्रतिशोधको राजनीतिमा तछाडमछाड गर्दा जनतामा निराशा छाएको । समस्या पनि ज्यूँकात्यूँ नै छ ।